लामो समयदेखि मोबाइल सेवाको एकीकृत दूरसञ्चार लाइसेन्स लिन पहल गर्दै आइरहेको चौधरी समूहले फेरि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ।
पछिल्लो समय समूहले दूरसञ्चार प्राधिकरणले राख्दै आएका शर्तहरू मान्न तयार भएको आसयसहित पत्राचार गरेको स्रोतको दाबी छ।
चौधरी समूहले यसरी अनुमति माग्दै बेलाबेलामा प्राधिकरणलाई पत्र पठाइरहेको प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेल बताउँछन्।
'चौधरी समूहबाट हरेक ६/६ महिनामा अनुमतिका लागि पत्राचार हुने गरेको छ, तर यो विषयमा प्राधिकरणको सञ्चालक समितिले कुनै निर्णय गरेको छैन,' उनले भने।
समूहले कुन कुन शर्तहरू मान्न तयार भएर पत्राचार गरेको हो भन्नेबारे चाहिँ उनले प्रस्ट पारेनन्।
चौधरी समूहले पनि पछिल्लो तयारी तथा प्राधिकरणसँग भएको पत्राचारको विषयमा धारणा राख्न चाहेन।
पूर्वाञ्चल क्षेत्रमा २०६० सालदेखि एसटिएम टेलिकम सञ्चार प्रालिको नामबाट सिजी मोबाइल कम्पनीले सेवा दिइरहेको थियो। भिस्याट प्रविधिबाट सेवा दिँदै आएको चौधरी समूहको सिजी मोबाइल कम्पनीले पछिल्लो समय सो प्रविधिको उपादेयता समाप्तीसँगै यो सेवा दिन सकेको छैन।
यो कम्पनीलाई ग्रामीण दुरसञ्चार सेवा सञ्चालनका लागि अनुमति दिइएको थियो। पछि नेपाल टेलिकम, एनसेल जस्ता कम्पनीका सेवा ती क्षेत्रमा पुगेसँगै कम्पनीले पनि एकीकृत दूरसञ्चार लाइसेन्सका लागि आवेदन दिएको थियो।
२०६९ सालमा राजपत्रमा प्रकाशित शर्तहरू पालनाका आधारमा प्राधिकरणले निर्धारित योग्यता पुगेपछि मात्रै यस्तो अनुमति दिन सकिने बताउँदै आएको छ। प्राधिकरणले पछिल्ला प्रविधिहरू एक्सचेन्ज तथा बिटिएस राख्न तयार भएमा मात्रै एकीकृत अनुमति दिने बताउँदै आएको हो। कुनै क्षेत्रमा आवश्यक सञ्चार सेवा पुर्याउन यी उपकरण राखिन्छ। बेस ट्रान्सिभर स्टेसन (बिटिएस) ताररहित हुन्छ जसले मोबाइल र नेटवर्कबीच सम्पर्क कायम गराउँछ।
प्राधिकरण प्रवक्ता पौडेलका अनुसार सिजी कम्पनीले कम्तीमा दुई सय स्थानमा यस्ता पूर्वाधार तयार गर्नुपर्ने हुन्छ।
'यी पूर्वाधार बनेपछि मात्रै हाम्रोबाट अनुमति दिइने छ। उहाँहरू पहिले नै लाइसेन्सको माग गरिरहनुभएको छ,' उनले भने।
२०७५ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारको मन्त्रिपरिषद बैठकले राजपत्रमा गरिएको व्यवस्था संशोधन गर्ने निर्णय गरेको थियो। तर सो निर्णय राजपत्रमा प्रकाशित हुनुअगावै सरकार फेरबदल भएसँगै नीतिगत व्यवस्थाका रूपमा संशोधनसहितको व्यवस्था आउन सकेन।
स्रोतका अनुसार पछिल्लो समय चौधरी समूहले एक्सचेन्ज तथा बिटिएसको पछिल्लो प्रविधि इनोड-बी राख्न सहमत भएको आसयसहित पत्राचार गरेको छ। फोरजी नेटवर्कका लागि इनोड-बी रेडियो स्टेसन प्रयोग गरिन्छ। मोबाइलमा थ्रिजी, फोरजी जस्ता नेटवर्क जोड्न मोबाइल अपरेटरहरूले रेडियो बेस स्टेसन प्रयोग गरेका हुन्छन्।