ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले इन्स्टाग्रामले मानिसलाई निराश बनाउने बताएका छन्। उनका अनुसार इन्स्टाग्रामले मानिसलाई निराशाजनक बनाउँछ।
मस्कले सोमबार ट्विटमा लेखेका छन्, 'इन्स्टाग्रामले मानिसलाई निराश बनाउँछ। ट्विटरले क्रोधित बनाउँछ। यसमध्ये कुन ठिक?'
मस्कको उक्त प्रश्नमा थुप्रै प्रयोगकर्ताहरूले जवाफ दिएका छन्। केहीले ट्विटरमा जानकारी र समाचारहरू सबैभन्दा छिटो अपडेट हुने, चलाउन रमाइलो हुने र मनोरञ्जन पाउन सक्ने जस्तो उदाहरण दिँदै ट्विटर राम्रो बताएका छन्। केहीले भने ट्विटरले मानिसको लोकतान्त्रिक अधिकार खोसिरहेको बताउँदै इन्स्टाग्रामको समर्थन गरिरहेका छन्।
ट्विटमा केही प्रयोगकर्ताले ट्विटरको अल्गोरिदमबारे प्रश्न उठाएका छन्। मस्कले ती प्रश्नहरूको जवाफमा पहिलेको तुलनामा ट्विटरको अल्गोरिदम परिवर्तन भएको र ट्विटर चलाउँदाको अनुभव फेरिएको महशुस गर्न सकिने बताएका छन्।
मस्क ट्विटरका सिइओ भएसँगै उनले ट्विटरमा केही परिवर्तनहरू गरेका छन्। उदाहरणको लागि, ब्लू चेक भेरिफिकेसन मोडल। प्रयोगकर्ताहरूले आफ्नो खाता प्रमाणित गर्न अथवा ब्लू टिक पाउनको लागि ट्विटरलाई निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ।
त्यस्तै उनले छिट्टै ट्विटरमा राजनीतिक विज्ञापन गर्न पाउने सुविधा सार्वजनिक गर्ने बताएका छन्। सन् २०१९ मा उक्त फिचरलाई प्रतिबन्ध गरिएको थियो।