केही समय अघि नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ। टेलिकम प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीको नेटवर्कमा १५ देखि २० मिनेट मात्रै समस्या देखिएको हो। यसको ठोस कारण भने उनले खुलाएनन्।
'केही समय नेटवर्कमा समस्या देखिएको हो। तर अहिले पनि समस्या देखिनु भनेको कलको भोल्युम बढेर हो,' उनले सेतोपाटीसँग भने, 'फोन लागिरहेको छैन भन्ने भएपछि प्रयोगकर्ताहरूले कल गर्न थाले। आवश्यकता भन्दा कल गर्ने र नेटवर्क चलाउने बढेपछि समस्या देखिएको हो। अहिले यो समस्या पनि समाधान भइसकेको छ।'
उनका अनुसार नेटवर्क प्रयोगकर्ताहरू एकैपटक बढेका कारण समस्या लामो समय देखिएको हो। आज दिउँसोको १२ बजेदेखि टेलिकम नेटवर्कमा समस्या देखिएको थियो।
नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले करिब आधा घण्टा कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या देखिएको थियो। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या देखिएका थिए।