प्रमुख सफ्टवेयर कम्पनी माइक्रोसफ्टले आफ्ना १० हजारभन्दा बढी कर्मचारी कटौती गर्ने भएको छ।
सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले करिब ५ प्रतिशत जनशक्ति कटौती गर्ने भएको हो।
कम्पनीको यो निर्णयाट मानव संशाधन र इञ्जिनियरिङ शाखामा कार्यरत कर्मचारी प्रभावित हुनेछन्।
पछिल्लो समयमा ट्वीटर, अमेजन, गुगल, माइक्रोसफ्टले धमाधम कर्मचारी कटौती गरेका छन्। अधिकांश कम्पनीले कटौती हुनुमा कम्पनीको घाटालाई उल्लेख गरेका छन्।
रोयटर्सका अनुसार, कम्पनीले आर्थिक वर्ष २०२३ को तेस्रो त्रैमासिक अन्त्यसम्म उक्त संख्यामा कर्मचारी कटौती गर्ने भएको छ।
कम्पनीहरूले आर्थिक मन्दीको सामना गरिरहँदा यसलाई अमेरिकी प्रविधि क्षेत्रको कटौतीमा आएको बूमको संकेत मान्न सकिले रोयटर्सले जनाएको छ।
माइक्रोसफ्टले गत वर्षको जुलाईमा आफ्ना केही साना कामहरू हटाउने निर्णय गर्दै करिब १ हजार कर्मचारी कटौती गरेको थियो।
सत्य नाडेलाको नेतृत्वमा रहेको माइक्रोसफ्टले कम्प्युटर बजारमा महामारीपछिको मन्दीको सामना गरिरहेको छ।
कम्पनीमा गत वर्षको जुन महिनाको अन्त्यसम्ममा करिब २ लाख २१ हजार कर्मचारी थिए, जसमध्ये १ लाख २२ हजार अमेरिकामा र बाँकी अन्य देशमा कार्यरत थिए।
कम्पनीको कर्मचारी कटौतीको निर्णयले प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी पलायन हुने संकेत देखिएको छ।
हालै माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले प्राविधिक क्षेत्रमा दुई वर्षका लागि चुनौती रहेको चेतावनी दिएका थिए।
उनले माइक्रोसफ्टले पनि यी चुनौतिहरूको सामना गर्नुपर्ने र टेक कम्पनीहरू दक्ष बन्न आवश्यक रहेको बताएका थिए।