चालु आर्थिक वर्षको ६ महिना (साउन–मंसिरसम्म) मा २३ लाख ७४ हजार मोबाइल सेट आयात भएको छ।
सो संख्या बराबरको मोबाइल आयातका लागि देशबाट १४ अर्ब ३२ करोड २९ लाख ६९ हजार रूपैयाँ बाहिरीएको छ।
यो साउनदेखि मंसिरसम्ममा भएको मोबाइल आयातको संख्या गत आर्थिक वर्ष २०७८/७९ को सोही महिनाको अवधिको तुलनामा ३५.२६ प्रतिशतले न्यून हो।
गत साउनदेखि कात्तिकसम्ममा ३५ लाख ६४ हजार बढी मोबाइल सेट आयात भएको थियो। ती फोन आयातका लागि देशबाट २५ अर्ब ६२ करोड रूपैयाँ बाहिरीएको थियो।
सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै मोबाइल आयातमा कडाइ गरेको थियो।
वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि सरकारले ६ सय अमेरिकी डलरसम्मका फोन आयातमा कडाइ गर्यो।
पछि यसलाई परिमार्जन गर्दै भदौ १४ गतेसम्मका लागि तीन सय अमेरिकी डलरसम्मका फोन आयातमा कडाइ गर्यो। त्यसलाई सरकारले मंसिर मसान्तसम्म लम्ब्यायो।
पुस १ देखि भने सरकारले सबै प्रकारका मोबाइल आयात खुला गरेको छ।
भन्सार विभागको तथ्यांक हेर्दा मंसिरको तुलनामा भने पुसमा स्मार्टफोनको आयात ११.४१ प्रतिशतले बढेको छ।
मंसिरमा आठ लाख तीन हजार मोबाइल सेट आयात भएको थियो भने पुसमा आठ लाख ९५ हजार मोबाइल सेट आयात भएको छ।