नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव कार्यक्रम आइतबार (माघ २२ गते) सम्पन्न गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालको अध्यक्षता थियो।
समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन्।
'नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमी अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरू, करसँग सम्बन्धित कार्यहरू लगायत सेवा उपलब्ध गराइरहेको छ। यी सेवा निरन्तर सुलभ रूपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण छ,' उनले भनिन्।
उक्त अवसरमा उनले अधिकतम सरकारी स्वामित्व रहेको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरूमा नाफारहीत रूपमा भए पनि दूरसञ्चार र सूचना प्रविधिका सेवाहरू उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको उल्लेख गर्दै विकट स्थानका जनताले तिरेको मूल्यबाट यस संस्थाको, कर्मचारीको र राज्यको आर्थिक आधार खडा भएकाले जनताले तिरेको मूल्यको सही सदुपयोग हुने गरी सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व पूरा गर्न सचेत भएर लाग्न निर्देशन दिइन्।
मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधा वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता सेयरधनीहरूलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि बताइन्।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टि सर्वोपरी हुनुपर्ने बताए।
'कम्पनीले सेवाहरू देशभर विस्तार गरेर मात्र पुग्दैन। वितरीत सेवाहरू गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ,' उनले भने।
सेवाहरू निरन्तर उपलब्ध गराउन सकिएमा कम्पनीको राजश्वमा थप बढोत्तरी हुने अर्यालले बताए। ग्राहकका गुनासा तत्काल सम्बोधन हुनुपर्ने र यसको लागि संयन्त्र नै तयार गरी कम्पनी लाग्नुपर्ने पनि उनले उल्लेख गरे।
सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनका लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए।
उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनगि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले नयाँ प्रविधिका रूपमा इ–सिम को देशव्यापी वितरण गरिरहेको तथा भिओ—वाइफाइ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी स्वरूप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताए।
उनले प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पुर्याउन, भ्यालु एडेड सेवाहरूको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरूको सुरूआत पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गरे। नयाँ सेवाका रूपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी पनि दिए।
कम्पनीको १९ औं वार्षिकोत्सवको अवसरमा एनटी एनिभर्सरी अफर उपलब्ध गराइएको छ।
यस्ता छन् अफर-
यस अन्तर्गत २९४ रूपैयाँमा दस दिनका लागि २० जिबी डाटा, ९८ रूपैयाँमा ३ दिनका लागि ६ जिबी डाटा र ४९ रूपैयाँमा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ।
यसैगरी २०० रूपैयाँदेखि ४९९ रूपैयाँको रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा ५०० रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ।
यी अफरहरू आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ। नयाँ एफटिटिएच जडान गर्ने ग्राहकका लागि १२ हजार रूपैयाँमा २० एमबिपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटिटिभी सहितको प्याकेज उपलब्ध गराइनेछ। यो सेवा फागुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ।
वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरू, वृद्धाश्रम र बाल आश्रमहरू, आमा समूहहरू, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रम पनि छन्।
यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरू र एमपिओस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवा निःशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
साथै, वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षण सुरूवात गरिएको छ। विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरूसँग उक्त कम्पनीहरूको सेटमा फाइभजी परीक्षण गर्न समन्वय भइरहेको कम्पनीले जनाएको छ।