नेपाल सरकारको लगानीमा सूचना प्रविधि (आइटी) कम्पनीको स्थापना गरिने भएको छ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले मंगलबारदेखि सुरू भएको २८औं क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै नेपालमा आइटी क्षेत्र विकासको लागि यो कदम आवश्यक रहेको बताएकी हुन्।
'आजको युग सूचना प्रविधिको युग हो। सूचना प्रविधिकै कारण संसारलाई अहिले एक मुठ्ठीमा ल्याउन सफल भएका छौं,' उनले भनिन्, 'यस्तोमा सरकारको पहल र लगानीमा आइटी कम्पनी खोल्नेबारे छलफल गर्नेछौं।'
चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दिएको सुझावपछि मन्त्री शर्माले यसबारे अध्ययन गरी आवश्यक कार्य अघि बढाउने बताएकी हुन्।
त्यस्तै, उनले सूचना प्रविधिसम्बन्धी कानुनमा नीतिगत छिद्रता रहेको, पर्याप्त कानुनी व्यवस्था नरहेको भन्दै नयाँ नियमहरू ल्याउने जानकारी दिइन्।
मन्त्री शर्माले सूचना प्रविधि क्षेत्र विकास हुनु भनेको 'स्मार्ट' हुनु रहेको समेत बताइन्। नेपालमा भ्रष्टाचार, अनियमितता लगायतका समस्या रोक्न पनि सूचना प्रविधिको विकास आवश्यक रहेको उनको ठहर छ।
साथै सूचना प्रविधिलाई कृषि, शिक्षा र स्वास्थ क्षेत्रसँग सम्वन्य गरी अघि बढाउनुपर्ने आवश्यकता व्यक्त गरिन्।
उनले हालसम्मको अवस्थामा राज्यले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा नराखेको बताइन्। यसै कारण राज्यले ठूलो मात्रामा प्राविधिक जनशक्ति गुमाइरहेको स्पष्ट पारिन्।
'सूचना प्रविधि क्षेत्रका साना-साना कुरालाई वेवास्था गर्दा हामीले दक्ष जनशक्तिहरू गुमाइरहेका छौं। त्यस्तै अर्बौंको सम्पत्ति बाहिरिने गरेको छ,' उनले भनिन्।
२८औं क्यान इन्फोटेक २०२३ आजबाट सुरू भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा भइरहेको उक्त प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल कम्पनी लगायत गरी दुई सयभन्दा बढी स्टल राखिएका छन्।