नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। बुधबार दिउँसो करिब १ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो।
अहिले नेपाल टेलिकम सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने समस्या देखिएको छ।
त्यस्तै, मेसेजिङमा पनि समस्या आइरहेको छ। मेसेज गएपनि पाउने व्यक्तिले १०-१५ मिनेटमा पाइरहेका छन्। यसबाहेक डेटा नचल्ने जस्ता समस्या समेत देखिएको छ।
नेपाल टेलिकमको नेटवर्कमा समय-समयमा समस्या देखिने गरेको छ। कम्पनीको नेटवर्कमा गत माघ ३ दिउँसो १२ बजेदेखि ३ बजेसम्म समस्या देखिएको थियो।
कम्पनीका प्रवक्ता शोभन अधिकारीसँग यसबारे कुरा गर्दा नेटवर्क ट्राफिक कन्जेन्सनका कारण समस्या आएको हुन सक्ने बताउँछन्। यो भनेको एकै पटक धेरै प्रयोगकर्ताले नेटवर्क प्रयोग गर्दा आइपर्न सक्ने समस्या हो।
यद्यपि यसको ठोस कारण भने सार्वजनिक भएको छैन।