ट्विटरका प्रयोगकर्ताहरूले एसएमएस टू फ्याक्टर अथेन्टिकेसन फिचर प्रयोग गर्न शुल्क तिर्नुपर्ने भएको छ। कम्पनीका अनुसार अबदेखि ब्लू टिक प्रयोगकर्ताहरूले मात्रै यो फिचर प्रयोग गर्न पाउने भएका हुन्।
सामाजिक सञ्जालहरूलाई सुरक्षित राख्न यो फिचरको प्रयोग गरिन्छ। उक्त फिचरको प्रयोगमा प्रयोगकर्ताहरूलाई आफ्नो खाता अन्य उपकरणमा कसैले खोल्ने कोसिस गरेको खण्डमा मोबाइलको मेसेजमार्फत जानकारी गराइन्छ र लग-इनको लागि एउटा कोड दिइन्छ।
तर ट्विटर इंकले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार यो फिचर ट्विटर ब्लू टिक प्रयोगकर्ताहरूले मात्रै प्रयोग गर्न पाउने छन्। आगामी मार्च २० देखि यो व्यवस्था लागू हुनेछ।
ट्विटर ब्लूको लागि प्रयोगकर्ताहरूले मासिक ११ डलर तिर्नुपर्ने हुन्छ। त्यस्तै वेब प्रयोगकर्ताहररूले भने यसको लागि मासिक ८ डलर तिर्नुपर्ने हुन्छ। अहिले उक्त व्यवस्था क्यानेडा, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, बेलायत, साउदी अरेबिया, फ्रान्स, जर्मनी, इटाली, पोर्जुगल, स्पेन, भारत,इन्डोनेसिया र ब्राजिलमा लागू भइसकेको छ। छिट्टै यो अन्य राष्ट्रहरूमा पनि लागू हुने कम्पनीले जनाएको छ।
अन्य प्रयोगकर्ताहरूले एसएमएस टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न नसकेपनि निःशुल्क रूपमा अथेन्टिकेसन मोबाइल एप र सेक्युरिटी की भने प्रयोग गर्न पाउनेछन्। यी फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो खाता सुरक्षित राख्न सक्नेछन्।
ट्विटर खाता सेक्युरिटी रिपोर्टका अनुसार सन् २०२१ सम्मको तथ्यांकले २.६ प्रतिशत प्रयोगकर्ताले मात्रै टू फ्याक्टर अथेन्टिकेसन फिचर प्रयोग गर्दैछन् भने ७४.४ प्रतिशत प्रयोगकर्ताले एसएमएस अथेन्टिकेसन प्रयोग गर्छन्।