सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फाइभजी प्रविधिमा प्रवेश गर्नुअघि नेपालभर फोरजी प्रविधिको अवस्थाबारे बुझ्न आवश्यक रहेको बताएकी छिन्।
बिहीबार टेक प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आयोजना गरेको ‘नेपालमा फाइभजी प्रविधिः अवसर र चुनौति’ कार्यक्रममा बोल्दै मन्त्री शर्माले अझै पनि नेपालमा फोरजी कनेक्टिभिटीमै समस्या रहेको र यसबारे अध्ययन गर्न आवश्यक भएको बताइन्।
‘हामी फाइभजी परिक्षण गर्ने क्रममा छौं। यसले हरेक क्षेत्रमा उन्नत विकासलाई मद्दत पुर्याउने विश्वास राखेका छौं,’ उनले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘तर अझै पनि फोरजी कनेक्टिभिटी मै समस्या छ। राजमार्गमा यात्रा गर्दा कतिपय ठाउँमा फोन कल समेत नलाग्ने अवस्था छ। यस्तोमा पहिले नेपालभर फोरजीको अवस्था परिक्षण गर्न आवश्यक छ।’
उनले सूचना तथा प्रविधि क्षेत्रमा फड्को मार्नुपर्ने बताउँदै त्यसभन्दा अघि प्रमुख आधार खडा गर्नुपर्नेमा जोड दिइन्। यसमा आवश्यक पूर्वाधार विकासको लागि सरकारीस्तरबाट पनि सहयोग गर्ने बताइन्।
त्यस्तै उनले कार्यक्रममा सूचना तथा प्रविधि विकासको लागि आवश्यक कानुन निर्माण गर्ने, डेटा सुरक्षाको लागि आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने र नेपालको समग्र क्षेत्र विकासलाई आवश्यक प्रविधि भित्र्याउने विषयमा पनि आफ्नो भनाइ प्रस्तुत गरिन्।