नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेशको कार्यालय परिसरभित्र मंगलबार बिहान करिब ९:१५ बजे अचानक १५/२० जना अनधिकृत व्यक्तिहरूको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल टेलिकमले एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो।
'महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानविरुद्ध हुने गरी उक्त समूहद्वारा भएको यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गर्दछ' विज्ञप्तीमा भनिएको छ।
'उक्त अमर्यादित कार्यको भत्र्सना गर्दै कम्पनी भविष्यमा यस्ता अवान्छित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छ।' टेलिकमका प्रवक्ता शोभन अधिकारीले विज्ञप्ती जारी गर्दै बताएका छन्।