एप्पल इंकले छिट्टै भारतमा पहिलो आधिकारिक भौतिक रिटेल स्टोर (पसल) सञ्चालन गर्दैछ।
कम्पनीले बुधबार वेबसाइटमार्फत मुम्बईमा नयाँ स्टोरको ब्यारिकेडको तस्विर सार्वजनिक गर्दै भारतमा पहिलो भौतिक स्टोर सञ्चालन गर्नेबारे जानकारी गराएको हो। यो स्टोर अर्बपति मुकेश अम्बानीको स्वामित्वमा रहेको पस सपिङ मलमा हुनेछ।
एप्पल इन्डिया वेबसाइटले रिटेल स्टोर सञ्चालनबारे जानकारी दिँदै लेखेको छ, 'हेल्लो मुम्बई। भारतको पहिलो स्टोरमा तपाईंहरूलाई स्वागत गर्न हामी तयार छौं।'
एप्पलले मुम्बईसँगै नयाँ दिल्लीमा पनि स्टोर सञ्चालन गर्ने तयारीमा रहेको अमेरिकी सञ्चार कम्पनी ब्लुम्बर्गमा उल्लेख छ। यद्यपि कम्पनीले स्टोरहरूको आधिकारिक उद्घाटन मिति सार्वजनिक गरेको छैन।
पछिल्लो समय एप्पलले उत्पादनको काम चीनसँगै भारतलगायत राष्ट्रहरूबाट गर्दैछ।
भारतमा एप्पलको सामग्री उत्पादन भएसँगै अब बिक्रीको लागि पनि भौतिक स्टोर हुने भएको हो। यो दक्षिण एशियन राष्ट्रहरूको लागि गौरवको रूपमा लिइएको छ।
हाल संसारको विभिन्न देशमा पाँच सय भन्दा बढी एप्पल स्टोर छन्।