एनसेलले १३ अर्ब ६० करोड कर तिरेको पुष्टि गरेको छ। एक विज्ञप्ति जारी गर्दै उसले कर तिरेको जानकारी दिएको हो।
एनसेलले आफ्नो भुतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस (बिक्रीकर्ता) द्धारा गरिएको अप्रत्यक्ष बिक्रीसँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर १३.६ अर्ब दाखिला गरेको उसले जनाएको छ।
एनसेलले हालसम्म गरेको कुल अग्रिम दाखिलाको आधारमा ठूला करदाताकार्यलयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्ण रूपमा पालना गरेको प्रमाणिकरण गरेको छ। यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्ण रुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ ।
देश र जनताको समृद्धिका लागि कटिवद्ध एक जिम्मेवार कर्पोरेट नागरिकको आफ्नो उच्च छविलाई कायम राख्दै एनसेलले यस विषयका सम्पूर्ण मामिलालाई सल्टाउन तथा निष्कर्षमा पुर्याउनका लागि सरकारलाई आफ्नो सम्पूर्ण सहयोग प्रदान गर्न पाएको मा खुसी रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
‘एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने।
नेपालको दूरसञ्चार पूर्वाधार विकास तथा नेपाली नागरिकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि कम्पनीले आक्रामक रुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै कम्पनीआफ्ना कर्मचारीको परिवार, डिलर, डिष्ट्रिब्युटर, व्यावसायिक साझेदार तथाविशेष गरेर आफ्ना एक करोड ५० लाखभन्दा बढी ग्राहकलाई बहु लाभप्रदानगरिरहन प्रतिबद्ध छ।
कम्पनी सञ्चालनको १३ वर्ष (आर्थिक वर्ष २०६१/६२ देखिमा यही जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शीर्षकमा १६० अर्बभन्दा बढी राजश्व योगदान पुर्याएको एनसेल देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्छ । एनसेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पुर्याउँदछ ।
सन् २०१६ मा कम्पनीको संचालन तथा पूँजीगत लगानी रु २५ अर्ब ८० करोड भन्दा बढी रहेको छ । आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक लाख १० हजार रोजगारी योगदान गरेको छ।