केही वर्ष फोन बजारबाट पूर्णरुपमा हराएर ‘कम ब्याक’ गरेको नोकिया अहिले फेरि चर्चामा छ। जर्मनीमा भएको जी २० सम्मेलनमा ‘नोकिया ३३१०’ को नयाँ मोडल र मूल्य सार्वजनिक भएपछि यसले फेरि चर्चा पाएको हो।
सम्मलेनमा रसियाको फोन कस्टमाइजर कम्पनी क्याभियरले ‘नोकिया ३३१०’ लाई नयाँ डिजाइनमा पेश गर्यो र यसको मूल्य २ लाख ५६ हजार रुपैयाँ तोेकेको छ।
अमेरिका र रसियाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लाद्मिर पुटिनको भेटका अवसरमा सार्वजनिक गरिएकाले यो फोनलाई 'पुटिन–ट्रम्प सम्मेलन संस्करण' बताइएको छ।
साढे दुई लाखभन्दा बढी पर्ने ‘नोकिया ३३१०’ मा के छ खास?
यसको डिजाइन पुरै फेरिएको छ। गाढा खरानी रङमा बनाइएको यो फोनमा पछाडि पट्टि सुनको गोले पाता छ जसमा पुटिन र ट्रम्पको फोटो अंकित छ। टाइटेनियमबाट बनेकाले यो बलियो र वजनदार पनि छ। तर, यसका फिचर भने साविककै मोडलमा भए जस्तै छन्।