सुन तथा महँगा रत्न जोडिएको स्मार्टफोन बनाउने कम्पनी ‘भर्चु’ बन्द भएको छ। बेलायती कम्पनी ‘भर्चु’ ले आफ्नो बाँकी प्रविधि टिसिएल कम्पनीले प्रयोग गर्ने सम्झौता गरेको घोषणा गर्दै कम्पनी बन्द गर्ने बताएको हो।
हातले बनाइएका ३० हजार वटा ‘भर्चु’ फोन अब टिसिएलको सहकार्यमा बन्ने जानकारी पनि कम्पनीले दिएको छ।
भर्चुका फोन विश्वमै महँगा मानिन्छन्। करोडौं मूल्य पर्ने यी फोनमा हिरा, अन्य महँगा रत्न, सुनका साथै छाला (लेदर) प्रयोग हुन्थ्यो।
केही समयअघि देखि नै आर्थिक समस्यामा परेको कम्पनी जोगाउन निकै प्रयास भएको प्रविधि सम्बन्धी जानकारी दिने समाचारमाध्यमहरूले उल्लेख गरेका छन्। अन्त्यमा आएर कम्पनी बन्द भएपछि करिब दुई सय कर्मचारी बेरोजगार भएका छन्।
विश्लेषकहरुका अनुसार कम्पनी बजारी प्रतिस्पर्धामा उत्रिन नसकेपछि बन्द हुने अवस्थामा पुगेको हो। भर्चु फोनको सुरुवाती मूल्य नै करिब १५ लाख रुपैयाँ छ।
यस्ता महँगा फोनहरु सबै हातले नै बनाइएका र सिमित संख्यामा हुन्छन्। भर्चुको स्थापना सन् १९९८ मा नोकियाले गरेको हो। सन् २०१२ मा नोकियाले यसलाई बेचेपछि नोकियाको अपरेटिङ सिस्टम छाडेर यो एन्ड्रोइड प्लेटफर्ममा बनिरहेको थियो।