सामाजिक संजाल फेसबुकले आफ्नो लोकप्रियता बढाउन स्मार्टफोन ल्याउने चर्चा पहिलेदेखि नै चलिरहेको छ। कम्पनीले यो कुरा हालसम्म स्वीकारेको भने छैन।
तर, फेसबुकले हालै एक उपकरणको पेटेन्टका लागि दिएको निवेदनका कारण उसले स्मार्टफोन ल्याउने कुरा पुनः चर्चामा आएको हो।
अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेअनुसार कम्पनीले एक ‘मोडुलर इलेक्ट्रोनिक डिभाइस’ को पेटेन्टको लागि आवेदन दिएको छ। जुन उपकरणमा स्पीकर, क्यामरा, माइक्रोफोन, टचस्क्रिन र डिस्प्ले हुनसक्ने बताइएको छ।
फेसबुकले गराएको दर्ताको आधारमा उक्त उपकरण स्मार्टफोन नै हुने पक्का अनुमान विश्लेषहरुको छ।
यसबारे कम्पनीले अहिले केही बताएको छैन। तर, फेसबुकका कोफाउण्डर मार्क जुकरवर्गले स्मार्टफोन र फेसबुकको सम्बन्धलाई निकट बनाउने केही योजना आफूले बनाइरहेको बताउँदै आएका छन्।
उनको योजना यही नै हो भन्ने यकिन नभएपनि फेसबुकका तर्फबाट स्मार्टफोन आउने कुरामा प्रविधि विश्लेषकहरु पूर्ण सकारात्मक भएको समाचारमाध्यमले जनाएका छन्।