माइक्रोसफ्टको विन्डोज १० को आगामी अपडेट चाँडै आउँदै छ। यसको नाम ‘अटम (अमेरिकामा फल हुनसक्ने) क्रिएटर्स अपडेट’ राखिएको छ। यो नयाँ अपडेटमा प्रयोगकर्ताका लागि थुप्रै नयाँ सुविधाहरु हुनेछन्। तर, योसँगै यसमा भएको ३२ वर्ष पुरानो माइक्रोसफ्ट पेन्ट फिचर भने हट्ने भएको छ।
सन् १९८५ मा विन्डोजको संस्करण १.० मै आएको यो फिचर एकदमै लोकप्रिय थियो। पेन्टको अपग्रेडसँगै फोटोहरु इडिट गर्न र अन्य काममा पनि निकै सहज भएको थियो। साना बालबालिकादेखि वयस्कले पनि कम्प्यूटर चलाउँदै, सिक्दैदेखि राम्रोसँग चलाउन सक्ने भइसकेसम्म यो फिचरमा रमाउँदै आएका थिए।
फोटो इडिट गर्न, साइज बनाउन, चित्र बनाउन यो निकै सहज मानिदैं आएको छ।
विन्डोज १० को अप्रिलमा जारी गरिएको अपडेटमा माइक्रोसफ्टले नयाँ पेन्ट थ्रीडी ल्याएको थियो। यसमा पेन्टको पुरानो संस्करणमा भएका र थ्रीडी चित्र बनाउने सुविधा थिए। तर, जे भएपनि यो पेन्टको पुरानो संस्करणमा अपडेट नहुने र त्यसरी काम पनि नगर्ने हुनाले खास उपयोग भएन।
अब आएर भने कम्पनीले यसलाई पूर्णरुपमै बन्द गर्ने घोषणा गरेको हो। अब नयाँ आउने विन्डोज १० मा यो फिचर समावेश नगरिने कम्पनीले बताएको प्रविधिसम्बन्धी समाचारमाध्यमले जनाएका छन्। यसको साटो के हुनेछ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन।
कम्पनीले आफ्नो ३२ वर्ष पुरानो यो फिचर हटाउने घोषणा गरेपनि विन्डोजको नयाँ अपडेट जारी गर्ने मिति भने तोकेको छैन।