एक सय जनाभन्दा बढी रोबोट विज्ञहरुले ज्यानमारा रोबोटहरूको विकास रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।
टेस्लाका सहसंस्थापक एलन मस्कसहित २६ विभिन्न देशका रोबोट कम्पनी तथा ११६ जना विज्ञहरुले राष्ट्रसंघलाई एउटा पत्र लेख्दै ‘किलर रोबोट्स’ को विकास रोक्न आग्रह गरेका हुन्।
इन्टरनेशनल जोइन्ट कन्फ्रेन्स अन आर्टिफिसियल इन्टेलिजेन्स (आइजेसिएआइ) मा बोल्दै प्रविधि कम्पनीका मालिकहरुले आर्टिफिसियल इन्टेलिजेन्सलाई अस्त्रको रुपमा प्रयोग गर्न प्रतिबन्ध लगाउनु पर्ने माग गरेका हुन्।
यस्ता ज्यानमारा रोबोटहरुको विकास भयो भने अहिलेसम्म नभएको व्यापक र तीव्र सशस्त्र युद्ध हुन सक्ने राष्ट्रसंघलाई बुझाइएको पत्रमा उल्लेख छ।
यी अस्त्र कुनैकारण बस चोरी (ह्याक) वा खराब नियत भएकाको हात लागेमा निदोर्ष मान्छेहरुको ज्यान खतरमा पर्न सक्नेबारे पनि पत्रमा सचेत गराइएको छ।
त्यसैले यस्ता ज्यानमारा रोबोटविरुद्ध तत्काल कदम चाल्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।
समस्या सिर्जना भएर समाधानमा कठिनाइ र चुनौती सामान गर्नुभन्दा यस्ता अस्त्र विकासमा पूर्णरुपमा प्रतिबन्ध गर्नुपर्ने विज्ञहरुले माग गरेका छन्। रोबोटको काम गर्ने क्षमता यकिन नहुनाले उनीहरुले भित्रभित्रै के के गर्छन् भन्ने पनि मान्छेले बुझ्न सक्दैनन्।
ज्यानमारा रोबोटले मानिसको मद्दत बिनै आफ्नो लक्ष्य पूरा गर्न सक्छ। हालसम्म आधिकारिकरुपमा यस्तो रोबोट विकास नभएपनि विश्वका धेरै देशमा यसबारे काम भइरहेको र चाँडै साकार हुने विश्वास गरिएको छ। धेरै हलिउड फिल्महरूमा यस्ता रोबोटका परिकल्पना गरिएको छ जसले मानवजातिकै विनाश गर्न सक्छ।
केही समयअघि मात्र फेसबुकले बनाएका दुई रोबोटले मानव आदेश पालना नगरी आफ्नै भाषामा कुरा गर्न थालेपछि सिस्टम नै बन्द गर्नुपर्ने अवस्था आएको थियो।
सन् २०१५ मा एक हजार जना प्रविधि विज्ञ, वैज्ञानिक तथा अनुसन्धानकर्ताले यस्ता अस्त्रबारे चेतावनी दिएका थिए। यदि ती रोबोट मानिसको लागि हानीकारक र खतरनाक हुनसक्छन् भने तिनीहरु पूर्णरुपमा प्रतिबन्धित हुनुपर्छ भन्ने उनीहरुको माग हो।