इन्टरनेट सेवा कम्पनी वर्ल्डलिंकले बालबालिकाको इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै सेफनेट नामक सुरक्षित सेवाको सुरुवात गरेको छ।
यसले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्ताहरुलाई कुन समयमा कस्ता नियन्त्रण सामाग्रीको छनोट गर्ने भन्ने बारेमा अनुमति दिने गर्दछ।
यो सेवा वल्र्डलिंकका ग्राहकहरुका लागि निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। सेफनेटको सेटिङ्ग कन्ट्रोलहरु वर्ल्डलिंकको ग्राहक पोर्टल अथवा माई वर्ल्डलिंक एप्सबाट प्राप्त गर्न सकिन्छ।
सेफनेटले बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्न, डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक गर्ने, वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर गर्ने,वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्ने, फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज गर्ने, आफ्नो समय तालिका अनुसार वेवसाइट अन र अफ गर्ने, विशेष वेवसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्नेजस्ता कार्यमा सहयोग पुर्याउँदछ।
यो सेवा नेपाली बजारमा अभ्यासको रुपमा सञ्चालन गर्न लागेको हुनाले सेवामा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टीको व्यवस्था नरहेको कम्पनीको भनाइ छ।