एप्पलले आफ्नो नयाँ आइफोन आउँदो सेप्टेम्बर १२ मा सार्वजनिक गर्ने भएको छ। अमेरिकी समाचारमाध्यम 'दी वाल स्ट्रिट जर्नल' लाई उदृत गर्दै फोर्ब्सले यसबारे जानकारी दिएको छ।
आइफोन यसपालि आफ्नो दशौं वार्षिकोत्सव मनाउँदै छ। यसअवसरमा कम्पनीले एकैसाथ तीन मोडलका आइफोन सार्वजनिक गर्ने बताइएको छ।
एप्पलले आइफोन ७ र ७ प्लसका अपग्रेडेड संस्करण र आइफोन ८ सार्वजनिक गर्न सक्नेछ। ७ र ७ प्लसका नयाँ संस्करणको नाम आइफोन ७ एस हुने अनुमान छ।
यी नयाँ फोन क्यालिफोर्नियामा निर्माणाधीन स्टिभ जब्स थिएटरमा सार्वजनिक हुन सक्नेछन्।
आइफोन ८ मा होम बटन नहुने, वायरलेस चार्जिङ सुविधा, दुई क्यामरा, १२८ र १२६ जीबी मेमोरी, टच आइडी सेन्सर र फेस स्क्यानिङ प्रविधि, धुलो र पानीले असर नगर्ने (डस्ट एण्ड वाटर प्रुफ) जस्ता फिचर हुनेछन्।
यसमा सामसुङद्वारा निर्मित 'ओएलइडी' स्क्रिन हुनेछ जो कम्पनीले पहिलो पटक आफ्नो फोनमा प्रयोग गर्दैछ। यो ‘ओएलइडी’ स्क्रिनले आफैं प्रकाश दिने भएकाले यसमा ब्याकलाइट जरुरत पर्दैन।
ब्याकलाइटका लागि छुट्टै सिस्टम राख्न नपरेपछि स्क्रिन झनै पातलो र एलसिडी भन्दा प्रभावकारी हुन्छ। फोर्ब्सकाअनुसार आइफोन ८ मा ५.८ इन्चको कर्भ्ड डिस्प्ले हुनेछ। यसमा पूरै फोनको आकार बराबरको डिस्प्ले हुनेछ।
करिब एक लाख १० हजार रुपैयाँभन्दा बढी पर्ने यो हालसम्मकै महँगो आइफोन हुने बताइएको छ। आइफोन ८ मा हुने चिपसेटका कारण महँगो हुने बताइएको छ।