नेपाल टेलिकमले बाढी प्रभावित तेइस जिल्लामा निशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ। सिम कार्डमा ५० रुपैयाँको टक भ्यालु समेत हुने टेलिकमले जनाएको छ।
यसरी सिम दिइने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर रहेका छन्।
सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा रहेको टेलिकमले जनाएको छ। बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सोको सट्टामा अर्को सिम कार्ड निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ। कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने टेलिकमको भनाइ छ।