दियालो टेक्नोलोजिज प्रालिले लेखासम्बन्धि सम्पूर्ण विवरण राख्नका लागि ‘इलेखा’ सफ्टवेयर सार्वजनिक गरेको छ।
क्लाउड (इन्टरनेट) मा आधारित इलेखा सफट्वेयर कम्प्युटरको हार्ड डिक्स क्र्यास हुने, भाइरस लाग्नेजस्ता सामान्य समस्याले लेखाको विवरण नै नष्ट हुने खतराबाट मुक्त हुन उपयोगी हुने दियालो टेक्नोलोजिजका प्रबन्ध निर्देशक पिआर खनालले बताए।
उनले भने, ‘विकसित देशमा डेक्सटप बेसका एकाउन्टिङ सफ्टवेयर विस्थापित भइ क्लाउड बेसका सफ्टवेयर प्रयोग बढेको छ, यही कुरालाई मध्यनजर गर्दै हामीले क्लाउड बेसमा आधारित सफ्टवेयर निर्माण गरेका हौँ।’
इन्टरनेटमा आधारित सफ्टवेयर भएको हुनाले लेखामा रहने व्यक्तिले मात्र नभएर कम्पनी सञ्चालकले विश्वका जुनसुकै कुनाबाट पनि आफ्नो कार्यालय÷संस्थाको आर्थिक हिसाबकिताब यसमा हेर्न सक्नेछन्।
क्लाउड बेसमा निर्माण भएको यो पहिलो सफ्टवेयर भएको कम्पनीको दाबी छ। यो सफ्टवेयर जुनसुकै ब्राउजरबाट पनि चलाउन सकिने र मोबाईलबाट समेत सम्पूर्ण विवरण हेर्न सकिने खनालले बताए।
उत्पादन, प्रोशोधन, व्यापार, सेवामुलक तथा हरेक किसिमका व्यववसायका लागि उपयोगी हुनेगरी विभिन्न प्याकेजमा निर्माण गरिएका उनले बताए। ‘साना व्यवसायीदेखि ठूला औद्योगिक घरानासम्मलाई यो सफ्टवेयर उपयोगी हुन्छ’ उनले भने।
यो सफ्टवेयरबाट ग्राहकले समयभित्र बिल भुक्तानी नगरे अटोमेटिक ग्राहकको मोबाईलमा नोटिफिकेशन अलर्ट जानेछ। जसले गर्दा बक्यौता उठाउनका लागि पनि अत्यन्तै उपयोगी हुने कम्पनीको भनाई छ।
अहिले नेपालमा सञ्चालित सफ्टवेयरहरु बुक किपिङका लागि मात्र प्रयोग भइरहेकोमा यो सफ्टवेयरमा त्योभन्दा माथिल्लो तहको एमआइएस र बिआइ जस्ता अत्याधुनिक विशेषता रहेको कम्पनीले दाबी गरेको छ। लेखा, स्टक म्यानेजमेन्ट, बैंक हिसाब मिलान, तलब भुक्तानी विवरण लगायतका सबै किसिमका विशेषता सफ्टवेयरमा समावेश छन्।
दियालो टेक्नोलोजिज प्रालिले हालसम्म खानेपानी संस्थाहरुका लागि नेपालमै पहिलोपटक ‘वाटरमार्क’, नेपालमै पहिलोपटक अनलाइनबाट बस टिकट काट्न सकिने बससेवाडटकम, मोबाईल एप्सबाटै खानेपानीको मिटर रिडिङ गर्न सकिने सिस्टमजस्ता सफ्टवेयर बनाउनुका साथै विदेशका आउटसोर्सिङका काम समेत गर्दै आएको छ।