सामसङले हालै फ्ल्यागसिप फोन ग्यालेक्सी नोट ८ सार्वजनिक गर्यो। यसमा अनेकौं आकर्षक विशेषता भए पनि सबैभन्दा बढी ध्यान दुई वटा लेन्स भएको क्यामराले खिच्यो।
आउँदो मंगलबार एप्पलले नयाँ आइफोन सार्वजनिक गर्दैछ। आइफोनको दसौं वाषिर्कोत्सवका अवसरमा कम्पनीले ल्याउने नयाँ मोडल पहिलेका तुलनामा एकदमै अलग छ। यसको डिजाइन र विशेषतामा धेरै नै सुधार छ।
पातलो, फोनकै आकार बराबरको पूरा डिस्प्ले, ताररहित चार्जिङ सुविधा जस्ता आकर्षक विशेषता नयाँ आइफोनमा हुने बताइएको छ। यी सबका बावजुद आइफोन प्रेमीमात्र होइन, सबै स्मार्टफोन प्रयोगकर्ताको चासो पनि यसको क्यामरा मै छ।
नयाँ आइफोनमा प्रयोगकर्ताको अनुहारका साथै सबै ‘३ डी स्क्यान’ गर्न सक्ने सेल्फी क्यामरा हुनेछ। लेजरको माध्यमबाट प्रयोगकर्ताको अनुहार पहिचान गर्ने प्रविधि यसमा हुनेछ। पछाडि दुईवटा र अगाडि एक गरी यसमा तीन क्यामरा हुनेछन्।
स्मार्टफोनका अग्रणी कम्पनीहरु अरु विशेषतामा भन्दा बढी क्यामरामा यति धेरै केन्द्रित किन हुँदैछन् त?
केही समययता स्मार्टफोनको जमाना अब सकिदैंछ भन्ने चर्चा भइरहेको छ। स्मार्टफोनमा नयाँपन भएन, यसको अधिकतम आकर्षण क्षमता नै सकियो भन्ने टिप्पणी सुुनिँदै आएको छ। तर, यी सबै अवधारणालाई अझै पनि विश्वास गर्न सकिदैंन, किनकि स्मार्टफोनमा अझै आकर्षण छ र, त्यो यसको क्यामरा नै हो।
क्यामरामा भइरहेको विस्तारले स्मार्टफोन सजिलै हाम्रो जीवनबाट पन्छाउन दिदैंन। हामीले विताएका पल र हेरेका दृश्य कैद गरेर सम्झना राख्न मद्दत गर्नुु मात्र क्यामराको काम हुनेछैन।
स्मार्टफोन क्यामरामा यस्ता यस्ता सुविधा पाइनेछ जसले हाम्रो दैनिक जीवन गतिविधि कल्पना गरेभन्दा धेरै सहज बनाइदिन्छ।
तपाईं आफ्नो स्मार्टफोन हेर्नुहुन्छ, यसले तपाईंलाई हेर्छ, तपाईं नै यसको धनी हो भन्ने चिन्छ र, स्क्रिन अनलक गरिदिन्छ।
तपाईं विदेश जानुभयो, त्यहाँ कुनै रेष्टुराँ छिर्नुभयो। मेनु हेर्नुभयो तर, खानेकुराको नाम बुझ्नुभएन। त्यहाँ तपाईंको स्मार्टफोनको क्यामराले भाषा बुझ्न मद्दत गर्नेछ। मेनुमा भएका शब्दमा क्यामरा देखाएपछि यसले तपाईंको भाषामा अनुवाद गरेर देखाउनेछ।
फर्निचर किन्न जानुभयो, आफ्नो ठाउँ अनुसार कुन कहाँ अट्छ, सुहाउँछ भन्ने अन्दाज भएन। आफ्नो कोठामा क्यामरा देखाएपछि सहजै कुन सामान कहाँ राख्दा कस्तो देखिन्छ, भन्ने भर्चुअल दृश्य देखिनेछ।
स्मार्टफोन क्यामरा विकासमा यी अवधारणा आइसकेका छन् र कतिपय व्यवहारमै पनि आउन थालिसके।
स्मार्टफोनको चिप बनाउने कम्पनी क्वालकमका उत्पादन प्रबन्धक फिलिप जेम्स जाकोबोवीट्ज भन्छन्, ‘सन् २०१८ मा स्मार्टफोनका क्यामराले ठूलो छलाङ मार्नेछ।’ क्वालकम अधिकांश स्मार्टफोन उत्पादकलाई सामग्री उपलब्ध गराउने कम्पनी हो।
स्मार्टफोनको क्यामरा प्रविधिमा भइरहेको तीव्र विकासले मान्छेलाई यसबाट अलग बनाउन नसक्ने जाकोबोवीट्जको भनाइ छ। कुनै दृश्य सामान्य आँखाले भन्दा स्मार्टफोन क्यामराबाट हेर्दा नै विशेष लाग्ने गरी यसको विकास हुनेछ।
जति नै स्मार्टफोन युग अन्त्य निकट हुँदै गएको भनिएपनि क्यामराले दिने सुविधाले यसलाई अझै धेरै वर्ष ‘अभिन्न ग्याजेट’ को सूचीमा राखिरहने प्रविधि विज्ञ बताउँछन्।