त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन मात्रै होइन अवैध ट्याक्सी मिटरहरु समेत आयात हुने गरेको रहस्य खुलेको छ। कार्गोमार्फत विदेशबाट ट्याक्सी मिटर आएको रहस्य त्यतिबेला खुल्यो जब प्रहरीले सूचनाका आधारमा एक जनालाई पक्राउ गर्यो।
नेपालका ट्याक्सीमा जडान हुने मिटरहरु काठमाडौंमा खरिदबिक्री हुने गरेको भन्ने सूचनाको आधारमा आइतबार केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धानले यस्तो रहस्य पत्ता लगाउन सफल भएको हो।
काठमाडौंको बसन्तपुरबाट ‘इजी वे इलेक्ट्रोनिक इन्टरप्राइजेज’को नाममा भन्सार छलेर ल्याइएका २ सय २४ मिटरसहित एक जना पक्राउ परेका छन्। दोलखा तामाकोसी गाउँपालिकाका २७ वर्षीय धिरेन्द्र फुयाल पक्राउ परेका हुन्। ति मिटरको मूल्य २२ लाख ४० हजारको हाराहारीमा पर्ने प्रहरीको अनुमान छ।
यी मिटर स्वीकृतिबिनाका भएकाले बिगारेर जडान गर्न सकिने भएकाले आयात गरिएको हुन सक्ने अनुमान गरिएको छ। पछिल्लो समय ट्याक्सीहरुमा मिटर अनिवार्य गर्न कडाई गरिएसँगै अवैध मिटर समेत आयात हुन थालेको हो।