आफ्नो दशौं वार्षिकोत्सव मनाइरहेको एप्पलले आज एक कार्यक्रम आयोजना गरी नयाँ संस्करणका फोनहरु सार्वजनिक गर्दैछ। एप्पलले आज ‘आइफोन एट’, ‘आइफोन एट प्लस’ र ‘आइफोन एक्स’ गरी नयाँ तीन फोन सार्वजनिक गर्ने जनाइएको छ।
एप्पलले परम्परागत संस्करण अन्र्तगतका दुई फोन वर्षमा एकपटक सार्वजनिक गर्ने गर्छ। गत वर्षको सेप्टेम्बर १६ मा एप्पलले ‘आइफोन सेभेन’ र ‘सेभेन प्लस’ सार्वजनिक गरेको थियो।
तर यस वर्ष सार्वजनिक हुने फोनमा नियमिततालाई तोड्दै अर्को नयाँ मोडल ‘आइफोन एक्स’ समेत थपिनेछ। यो फोन एप्पलले दशौँ वार्षिकोत्सवको अवसरलाई विशेष रुपमा यादगार बनाउन ल्याउन लागिएको बताएको छ।
तर सार्वजनिक हुनुपूर्व नै यी फोनका धेरै जसो विशेषताहरु भने लिक भइसकेका छन्।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार सार्वजनिक गर्न लागिएको यी फोनहरु मध्ये ‘एट’ र ‘एट प्लस’ पछिल्लो ‘सेभन’ र ‘सेभेन प्लस’ को अपडेटेड रुप हुनेछन्।
यी दुई फोनमा होम बटन नभएर ‘एज टु एज’ स्क्रिन रहनेछ। त्यस्तै यीनमा ‘फेसियल रिकग्नाइजेसन’, ‘एलइडी डिस्प्ले’ र ‘वायरलेस चार्जिङ’ को सुविधा रहनेछ।
यसबाहेक दुई क्यामरा, १२८ र १२६ जीबी इन्टरनल स्टोरेज भेरियन्ट, टच आइडी सेन्सर र फेस स्क्यानिङ प्रविधि, धुलो र पानीले असर नगर्ने (डस्ट एण्ड वाटर प्रुफ) जस्ता फिचर हुनेछन्।
यसमा एप्प्लले सफ्टवेयरका रुपमा ‘आइओएस ११’ प्रयोग गर्नेछ।
आइफोनका यस संस्करणका फोनहरु हालसम्मकै महँगो समेत हुनेछन्। यी फोनको मूल्य एक हजार अमेरिकी डलर भन्दा बढी हुने आँकलन गरिएको छ। यस अघि आइफोन सेभेन प्लसको अधिकतम स्टोरेज क्षमता भएको फोनको मूल्य ९६९ अमेरिकी डलर थियो।
त्यस्तै यस बाहेक एप्पलले आजै तेश्रो पुस्ता (थर्ड जेनेरेसन) को ‘एप्पल वाच’ र फोरके एप्पल टिभी’ पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।