स्मार्टफोन प्रयोगकर्ताका लागि सेप्टेम्बर महिना विशेष हुन्छ। एप्पलले हरेक वर्ष यही महिना नयाँ आइफोन सार्वजनिक गर्दै आएको छ। संस्थापक स्टिभ जब्सले ५ वर्षअघि सुरु गरेको यो परम्परा कम्पनीले यस वर्ष पनि कायम राख्यो।
अमेरिकाको क्यालिफोर्निया, क्यूपरटिनोस्थित नवनिर्मित स्टिभ जब्स थिएटरमा खचाखच उत्सुक भिडमाझ एप्पलका प्रमुख कार्यकारी टिम कुकले मंगलबार तीन वटा नयाँ आइफोन सार्वजनिक गरे— आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्स।
स्मार्टफोनमा सामसङ र आइफोनबीच वर्षौंदेखि तीव्र प्रतिस्पर्धा छ। सामसङले हालै ग्यालेक्सी नोट ८ सार्वजनिक गरेको छ। आइफोनको नयाँ मोडल कस्तो हुन्छ भन्ने धेरैको उत्सुकता थियो।
नेपाली समयअनुसार मंगलबार राति यो उत्सुकता मेटिएको छ। आइफोन ८ र ८ प्लसभन्दा बढी ध्यान एक्सले खिचेको छ, किनकि यो कम्पनी र प्रयोगकर्ता दुवैका लागि विशेष छ।
केही वर्षयता आइफोन मोडलमा उल्लेख्य परिवर्तन नभएको भन्ने आलोचना खेप्दै आएको कम्पनीले आइफोन एक्समार्फत् परिवर्तन र प्रयोगको भरपुर प्रयास गरेको छ।
आइफोन एक्सको नाम नै साविक आइफोनको भन्दा अलग छ। ३, ४, ५ हुँदै ८ सम्म अंक समेट्दै आएको यसको नाम अक्षरमा मात्र राखिएको छ। ‘एक्स' अक्षरमा लेखिएपनि यसको उच्चारण ‘टेन’ नै हुनेछ, आइफोनको दसौं वार्षिकोत्सव सम्झाउनका लागि।
मुख्य तीन कुराले आइफोन एक्सलाई पृथक बनाएको छ— मूल्य, प्रविधि र डिजाइन। यिनै कारण आइफोन एक्स कम्पनीकै पहिलो प्रिमियम स्मार्टफोन बनेको छ।
सबैभन्दा पहिले यसको मूल्यबारे चर्चा गरौं।
आइफोन एक्सको मूल्य ९९९ डलर तोकिएको छ जुन हालसम्मकै महँगो आइफोन हो। यो आइफोन ८ भन्दा ३०० र ८ प्लसभन्दा २०० डलर बढी पर्छ।
यो मूल्य अति नै चर्को भयो भन्ने प्रश्नमा टिम कुकले यसलाई आइफोनको ‘दस' वर्षअघिको यूगसँग जोडेर जवाफ दिए।
‘किनकि, यसले अब आइफोनको अर्को दशकका निम्ति बाटो कोर्छ,’ टिमले भने, ‘यसका केही विशिष्ट फिचरका कारण यो महँगो भएको हो।’
प्रविधिः
आइफोन एक्समा नयाँ स्क्रिन प्रविधि छ, ओएलइडी। यसले फोन धेरै पातलो, हलुका र चम्किलो बनाउँछ। यसको आफ्नै प्रकाश हुनाले स्क्रिनमा उज्यालोको निम्ति बेग्लै प्रविधि जोड्नु पर्दैन जसले यो फोन स्वतः पातलो बनेको छ। यो स्क्रिनको अर्को विशेषता के भने यसको उज्यालो हामीले घटबढ गरिरहनु पर्दैन। कम प्रकाश भएको ठाउँमा यो आवश्यकता अनुसार आफैं चम्किलो हुन्छ र धेरै प्रकाश भएमा आफैं धमिलो हुन्छ।
यसको अर्को विशेषता फोन अनलक हो। फोन अनलक गर्न यसलाई हेरे मात्र पुग्छ।
अहिलेसम्म औंलाको माध्यमबाट (टच आइडी) ले अनलक गर्ने स्मार्टफोनको विशेषतालाई आईफोन एक्समा अनुहार पहिचान गर्ने प्रविधिले विस्थापन गरेको छ।
'फेस आइडी' नाम दिइएको यो प्रविधिले इन्फ्रारेड क्यामरा सिस्टमबाट काम गर्छ। यसले सामुन्ने भएको व्यक्तिको अनुहारको बनावट र टाउको स्क्यान गर्छ र पासवर्डका रूपमा सेभ गर्छ। पछि यही स्क्यान गरिएको बनावट पहिचान गरी फोन अनलक गर्छ। सामसङले यही प्रविधिलाई ‘फेस रिकगनिसन फिचर’ नाम दिएको छ।
रातको समयमा आइफोनले तपाईंको अनुहार कसरी थाहा पाउँछ त?
यसलाई प्रयोगकर्ताको अनुहार थाहा पाउन उज्यालो चाहिँदैन। अँध्यारोमा पनि यसले अनुहारमा इन्फ्रारेड फाल्छ र यसैको माध्यमबाट पहिचान गर्छ।
यसमा पछाडि १२ मेगापिक्सेलका दुई वटा र ७ मेगापिक्सेलको सेल्फी क्यामरा छ।
अक्टोबर २७ देखि अग्रिम बुकिङ खुला गरिने र नोभेम्बर ३ देखि बिक्री गरिने आइफोन एक्स ६४ र २५६ जिबी संस्करणमा उपलब्ध हुनेछ। ६४ जिबी संस्करणको सुरआती मूल्य ९९९ डलर हो भने २५६ जिबीको १,१४९ डलर पर्नेछ। अहिलेको विनिमय दरअनुसार यो क्रमशः एक लाख र एक लाख पन्ध्र हजार रूपैयाँभन्दा बढी पर्छ।
डिजाइनःपछिल्ला तीन वर्षमा कम्पनीले डिजाइन परिवर्तन गरेको आइफोन एक्समै हो। कम्पनीको पहिचान बनिसकेको होम बटन यसमा छैन। यसलाई कम्पनीले ‘स्मार्टफोनको भविष्यको खाका’ बताएको छ।
५.८ इन्च डिस्प्ले भएको आइफोन एक्स आइफोन ७ भन्दा खास फरक त देखिँदैन तर, अन्य आइफोन मोडलभन्दा निकै ठूलो छ।
सामसङ एजको झैं नयाँ आइफोनमा फोनको आकार जतिकै डिस्प्ले छ। कुना र छेउ मोडिएका छन्। होम बटन नभएपछि म्याकबुकमा जस्तै यसमा औंलाको गतिविधिले स्क्रिन चलाउने सुविधा दिइएको छ। जस्तो दुइटा औंला माथि सारेपछि स्क्रिन होममा जान्छ, माथि सारेर एकछिन रोकेपछि त्यो एपहरूमा जान्छ।
आइफोन ८ र ८ प्लसःआइफोन ७ र ७ प्लसका विस्तारित संस्करण आइफोन ८ र ८ प्लस सिसाले बनाइएको छ। यो सिसा हालसम्म स्मार्टफोनमा प्रयोग भएको सबैभन्दा बलियो भएको एप्पलले दावी गरेको छ।
यी नयाँ फोनको स्वरुपमा भने खास परिवर्तन गरिएको छैन। यी हेर्नमा ७ र ७ प्लस जस्तै देखिन्छन्।
आइफोन ८ मा ४.७ इन्च र ८ प्लसमा ५.५ इन्चको रेटिना एचडी डिस्प्ले छ।
दुवैमा पछाडि १२ मेगापिक्सेलको क्यामरा छ। आइफोन ८ प्लसमा भने दुई वटा लेन्स छन्।
धुलो र पानीले असर नगर्ने यी फोनमा नयाँ चिप छ। यसले फोनलाई तीव्र बनाएको छ।
ताररहित चार्जिङ सुविधा भएका यी फोन ६४ र २५६ जिबी र्याममा उपलब्ध छन्।
सिल्भर, स्पेश ग्रे र ब्लस गोल्ड गरी तीन रङमा उपलब्ध यी फोनमा १९ सेप्टेम्बरदेखि आइओएस ११ अपरेटिङ सिस्टम डाउनलोड गर्न मिल्नेछ।
सेप्टेम्बर २२ देखि बिक्री गरिने आइफोन ८ को मूल्य ६४९ डलर (६४ जिबी) र ८४९ डलर (२५६ जिबी) तोकिएको छ।
आइफोन ८ प्लस ६४ जिबीको ७४९ डलर र २५६ जिबीको ९४९ डलर तोकिएको छ।
आइफोनका दस वर्ष:नयाँ आइफोन किन्न दस वर्षअघि मानिस जति उत्सुक थिए, आज पनि त्यतिकै उत्सुक छन्।
दस वर्ष पहिले स्टिभ जब्सले सार्वजनिक गरेको एप्पलको पहिलो आइफोन किन्न हजारौं मान्छे एप्पलको कार्यालय र यसको आधिकारिक बिक्रेता एटी एण्ड टीका पसल बाहिर लाइन लागेका थिए। धेरै पसल बिक्री सुरु भएको केहीबेरमै रित्तिएका थिए। कुनै पसलमा भिड सम्हाल्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो। ६१ लाख वटा बिक्री भएको त्यो स्मार्टफोन थियो, आइफोन मोडल नम्बर ए १२०३।
स्टिभले सन् २००७ जनवरी ९ मा क्यालिफोर्नियामा भएको एक एक्स्पोमा सबैलाई उक्त आइफोन देखाउँदै भनेका थिए, ‘म यसका निम्ति साढे दुई वर्षदेखि प्रतिक्षा गरिरहेको थिएँ। आज एप्पलले फोनको पुनर्निर्माण गर्दैछ।’
आइफोन मोडल नम्बर ए १२०३ सन् २००७ जून २९ मा सार्वजनिक गरिएको थियो।
लगत्तै सन् २००८ जुलाई ११ मा एप्पलले आइफोनको नयाँ मोडल सार्वजनिक गर्यो, आइफोन ३ जी। पहिलो सातामै यो फोन १० लाखभन्दा बढी बिक्री भएको थियो। आइफोन ३ जी ८ र १६ जिबी स्टोरज गरी दुई संस्करणमा थियो। १६ जिबी भने कालो वा सेतो रङमा पाइन्थ्यो।
सन् २००९ मा यसको परिस्कृत संस्करण आइफोन ३ जीएस आयो जसपछि आइफोन ३ जी करिब आधा सस्तोमा बिक्री गरियो। ग्राहकलाई सिमित सुविधाः कालो रङ, ८ जिबी स्टोरेज र आइफोन ओएस ३.० सफ्टवेयर दिएर फोन दुई वर्षसम्म चलाउनुपर्ने सम्झौतासहित यो ९९ डलरमा बिक्री गरियो। यसले आइफोन किन्न नसक्ने तर चलाउन चाहनेका धेरैका सपना पूरा गर्यो।
आइफोन ३ जी एसको सफलता अग्ल्याउन सन् २०१० को जुन महिनामा आइफोन ४ आयो। यहाँ सम्म आइपुग्दा आइफोनको आकर्षण यति बढेको थियो कि कम्पनीले यसको माग धान्न नसक्ने अवस्था देखियो। आइफोन ४ का निम्ति अग्रिम बुकिङ खुलाइएको थियो जसको संख्या ६ लाखभन्दा बढी थियो। एप्पल आफैंसहित जापानस्थित उसको साझेदार कम्पनी र अन्य खुद्रा पसलले सर्भर नै क्र्यास भएर अग्रिम बुकिङका धेरै अर्डर लिन सकेनन्। आइफोन ४ उपलब्ध भएको तीनदिनमा मात्रै १७ लाख वटा बिकेको थियो।
अर्को वर्ष आएको आइफोन ४ एस मा एसको अर्थ विशेष थियो, सिरी। सिरी आइफोनको इन्टेलिजेन्ट पर्सनल असिस्टेन्ट प्रविधि हो जुन पछि एप्पलका अन्य उत्पादनमा पनि उपलब्ध भयो। ४ एस सम्म आइपुग्दा आइफोनको सफ्टवेयरले ठूलो छलाङ मारिसकेको थियो। यो आइफोन ६ आउँदासम्म बिक्रीमा रह्यो तर, यसको स्टोरज विस्तारै कम गर्दै ८ जिबीमा मात्र उपलब्ध गराइएको थियो।
नयाँ क्यामरा र तीव्र गतिमा चल्ने आइफोन ४ एसको सफलतासँगै सन् २०१२ मा आइफोन ५ बजारमा आयो। पहिलो पटक आइफोन सेप्टेम्बर मा सार्वजनिक गरिएको यही हो। सेप्टेम्बर १२ मा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको आइफोन ५ हालका एप्पल सिइओ टिम कुकको सुरुआती र संस्थापक स्टिभको अन्तिम आइफोन थियो।
आइफोन ५ मा पुराना मोडलको दाँजोमा निकै बदलाव भयो। आलुमिनियमले बनेको आइफोन ५ पातलो, हलुका, ठूलो, लाम्चो स्क्रिन भएको थियो। यसमा सबैभन्दा ठूलो परिवर्तन यसको चार्जर जोड्ने पिन थियो। पहिलेका मोडलमा लामो र ठूलो जोड्ने ठाउँ भएको ३० पिन डिजाइनलाई कम्प्याक्ट डक कनेक्टर (हाल भएको) ले प्रतिस्थापन गर्यो। आइफोन ४ एसमा झैं यसमा पनि सोनी कम्पनीले बनाएको ८ मेगापिक्सेल क्यामरा छ।
सन् २०१३ सेप्टेम्बर १० मा आइफोन ५ एससँगै यसको सानो र सस्तो संस्करण आइफोन ५ सि पनि सार्वजनिक भयो।
सेतो र कालो रङमा मात्र उपलब्ध हुँदै आएकोमा आइफोन ५ एस सुनौलो रङमा पनि आयो। होम बटनमा टच आइडी विशेषता यहींबाट सुरु भएको हो।
सेप्टेम्बर ९ सन् २०१४ मा ठूलो आकारको आइफोन ६ र ६ प्लसले एप्पललाई आलोचनासहित उचाइमा पुर्यायो। यसको मूल्य पनि उच्च नै रह्यो। आइफोन ६ को सुरुआती मूल्य ६४९ डलर र ६ प्लसको ७४९ डलर तोकिएको थियो।
यसैलाई पछ्याउँदै सन् २०१५ सेप्टेम्बरमा ९ मै आइफोन ६ एस र ६ एस प्लस सार्वजनिक भए। आइफोन फ्यानहरु यसमा खास नयाँपन नपाएको भन्दै निराश भए पनि यसको बजार र लोकप्रियता कम भएन।
फ्यानको दुखेको मन सम्हाल्न सन् २०१६ सेप्टेम्बर १६ मा आइफोन ७ र ७ प्लस आए जसमा थपिएका केही नयाँ प्रविधि र नयाँ रङको विकल्पले केही राहत दियो।
डिजाइनमा ६ एसभन्दा खास फरक नभए पनि यो पानी र धुलोको असर नहुने गरी बनाइएको छ। यसको मुख्य विशेषता भनेको यसमा हेडफोन ज्याक छैन।
१२ मेगापिक्सेल क्यामरा र २५६ जिबीसम्म स्टोरेज उपलब्ध भएको आइफोन ७ को सुरुआती मूल्य ७६९ डलर तोकिएको थियो।
स्रोत: विकिपेडिया