सोसल कमर्स सञ्जाल सगुनमा लगानी अवसरलाई नोभेम्वर ३० सम्म कायम गरिने भएको छ। सगुनका संस्थापक गोविन्द गिरीले न्युनतम लगानीको रकम हासिल हुने चरणमा पुगेकोले लगानी उठाउने काम स्थगित गर्ने निर्णय गरिएको बताए।
प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि चलिरहेको यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने हुन्छ।
यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट तथा डेविट कार्ड, एसीएच्, बैंक तथा चेकको भुक्तानीबाट स्वीकार गरेको छ। सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरिरहेको छ।
सगुनमा अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वबाट लगानी आएको संस्थापक गिरीले जानकारी दिए।
यसमा रहेका शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक छन्। पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फारम बैंकमार्फत वायर ट्रान्फर गर्नु पर्ने झन्झटका कारण धेरै छुटेका थिए। यस चरणमा क्रेडिट र डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि सहज भएको छ।
पहिलो चरणमा लगानी गर्न छुटेकाहरुले पनि यस चरणमा गर्न सक्ने बताइएको छ। कम्पनीले यसबीचमा आफ्नो पूर्णकालीन कर्मचारी संख्यालाई १२ बाट ४२ पुर्याएको छ। साथै उसले आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरेको छ।
डिसेम्बरदेखि संचालनमा आउने यो एप सबैको आकर्षणमा रहने कम्पनीको विश्वास छ। सगुनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ।
के हो सगुन ?सगुन सुरुवाती चरणमा रहेको सोसल कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरुलाई पैसा कमाउने अवसर प्रदान गर्ने हो। ‘ सगुन’ भन्ने शब्दको मूल संस्कृतको ‘ सकुना ’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हो।
सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु गरिएको सेवा हो र सन् २०१४ मा सोसल कमर्स प्लेटफर्मको रुपमा पुनर्विकसित गरिएको थियो।