कोरोना महामारीले नेपालको पर्यटन उद्योगमा ठूलो क्षति पुर्यायो। कोरोना मत्थर भएसँगै विदेशी पर्यटक आउन थालेका छन्। आन्तरिक पर्यटकको चहलपहल अझै धेरै छ। पर्यटन क्षेत्र चलायमान हुन थालेसँगै व्यवसायीहरूमा आशा पलाएको छ।
आन्तरिक पर्यटकले मात्र पर्यटन क्षेत्र फस्टाउन भने सक्दैन। विदेशी पर्यटकले यहाँ आएर गर्ने खर्च नै प्रमुख स्रोत हो। त्यसैले अहिले विदेशी पर्यटक कति आइरहेका छन्? समग्र पर्यटन क्षेत्र पुनरूत्थानका लागि के गर्नुपर्ला?
यिनै सन्दर्भमा हामीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीसँग कुराकानी गरेका छौं। रेग्मीसँगको कुराकानीको सम्पादित अंशः
कोरोनापछि पर्यटन क्षेत्र चलायमान हुँदै गएको देखिन्छ, पर्यटक आगमनको अवस्था कस्तो छ?
हाम्रो पर्यटन क्षेत्रका लागि अहिलेसम्मको सबभन्दा राम्रो वर्ष सन् २०१९ हो। त्यो वर्षसँग आजको अवस्थालाई तुलना गर्दा पर्यटन क्षेत्र ६० प्रतिशत पुनर्स्थापना भइसकेको छ। सन् २०२२ जनवरीदेखि अप्रिलसम्म गरेर एक लाख ३० हजारभन्दा धेरै विदेशी पर्यटक आएका छन्।
पश्चिमा मुलुकबाट आउने पर्यटक संख्या बढ्दै गए पनि एसियाली देशहरूबाट भने आउन सकेका छैनन्। मार्च महिनासम्मको तथ्यांक हेर्दा एसियाली मुलुकको पर्यटन क्षेत्र अझै संकुचनमै छ। चीन, जापान, कोरिया, म्यानमार, थाइल्यान्डजस्ता देशका पर्यटक एकदमै कम छन्। उनीहरूकहाँ मापदण्डहरू सहज हुनासाथ आगमन बढ्छ।
त्यस्तै हाम्रा गन्तव्य आन्तरिक पर्यटकले भरिभराउ छन्। शुक्रबार र शनिबार त होटलहरू खाली हुँदैनन्। तराईका ठूला होटलमा क्यासिनो छ, भारतीय पर्यटक बढिरहेका छन्। ट्रेकिङमा पनि स्वदेशीहरू धेरै छन्। ठ्याक्कै भन्नुपर्दा अहिलेको पर्यटन ६० प्रतिशत विदेशी पर्यटकले र ४० प्रतिशत आन्तरिकले उकासेका छन्।
विदेशी पर्यटकको संख्या बढाउन के गर्दैछ नेपाल पर्यटन बोर्ड?
पर्यटन बोर्डको मुख्य काम भनेकै पर्यटन प्रवर्द्धन गर्नु हो। कोरोना महामारीका समयमा बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनको काम गर्यो। ‘पहिले देश त्यसपछि विदेश’ भनेर अभियान नै चलायो। विगतमा भारतीय पर्यटकहरू तराई पुगेर फर्किन्थे। त्यसलाई तराईबाहेकका ठाउँमा पर्यटक पुर्याउन सातै प्रदेशमा अन्तर्क्रियात्मक कार्यक्रम गर्यो।
पर्यटकीय गन्तव्यहरू प्रचारका लागि विभिन्न ठाउँका फोटो–भिडिओ र टिकटक प्रतिस्पर्धा भयो। नाटासँग मिलेर ६८ वटा टुर प्याकेज गरियो। कृषि बैंकका ६० हजार कर्मचारी बोर्डले तयार पारेको प्याकेजमा घुम्ने सहमति हुँदैछ। पर्यटन प्रवर्द्धनकै लागि स्वदेशमा ३ वटा इस्टर्न ट्रावल मार्ट गर्यौं। भारत र बंगलादेशमा भएको टुरिजम मार्टमा सहभागिता जनायौं।
यसअघि के गर्यौं भन्दा पनि अब के गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। जहाँ हामीले मेहनत गरेका छौं त्यहाँबाट नेपाल आउने पर्यटक संख्या राम्रो छ। जहाँ सरकारले केही गर्न सकेको छैन त्यहाँका पर्यटक आउन पाएका छैनन्। विदेशी पर्यटक बढाउन आगामी वर्ष के गर्ने भन्नेबारे बोर्डले मात्र योजना बनाएर हुँदैन। बोर्डको कुरा मन्त्रालयले सुन्दैन। बोर्ड एक्लैले के गर्न सक्छ?
हामीले पटकपटक भ्रमण वर्ष तोकेरै पनि पर्यटक भित्र्याउने परिकल्पना गर्यौं, तर भने ल्याउन किन सकिएन?
प्रत्येक भ्रमण वर्षपछि पर्यटक संख्या बढेको छ। जुन वर्षलाई भ्रमण वर्ष घोषणा गरिन्छ त्यही वर्ष पर्यटक बढ्ने र लक्ष्य पूरा हुने भन्ने होइन। त्यो वर्ष सूचना सन्देश पुग्छ। यता पूर्वाधारका काम हुन थाल्छन्। त्यसको प्रभाव आउने दुई/तीन वर्षपछि देखिन्छ। सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो। कोरोना नआएको भए २०२१ बाट पर्यटक बढ्दै जान्थे। सन् २०२४ लाई भ्रमण वर्ष मनाउने हो भने आजबाट तयारी थाल्नुपर्छ। नेपालले भ्रमण वर्ष मनाउँदैछ है भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्छ। त्यसपछि २०२३ मा केही संख्या बढ्छ २०२४ मा त्यही संख्या दोब्बरले बढ्छ र लक्ष्य पूरा हुन्छ।
अहिले फेरि त्यस्तो कुनै लक्ष्य आगामी आर्थिक वर्षको बजेटमा सुझाव गर्नुभएको थियो?
कति पर्यटक भित्र्याउने, कसरी अघि बढाउने भन्नेबारे हामीसँग योजना भए पनि मन्त्रालयले काम गर्न नदिएको अवस्था छ। अघिल्ला वर्षहरूमा मन्त्रालयसँग राम्रो सहकार्य थियो। बोर्डको समस्या मन्त्रीज्यूले सुन्नु हुन्थ्यो। बोर्डले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयसँग सिधै कुरा राख्थ्यो। बोर्डका कार्य तथा योजना सरकारको नीतिमा पनि पर्थे। कसरी अघि बढ्ने भन्नेबारे बृहत छलफल हुन्थ्यो। त्यसको परिणाम कोरोना महामारीकै समयमा पनि देखियो। हामीले महामारीमा पर्यटन व्यवसायीलाई राहत हुने थुप्रै काम गरेका थियौं।
बोर्डको पहिलो प्राथमिकता निजी क्षेत्रलाई काम गर्न सहज वातावरण बनाइदिने हो। त्यसबापत व्यवसायीले कर तिर्छन् र राज्यलाई फाइदा हुन्छ। अहिले त्यो अवस्था छैन। पर्यटन व्यवसायीको समस्या मन्त्रालयले सुन्दैन। एउटा भरिया मेहनतले उद्यमी बनेको ठाउँ हो पर्यटन उद्योग। यसलाई राज्य र मन्त्रालयले बुझ्न जरूरी छ।
बोर्डको सिइओका हिसाबले भन्नुपर्दा म आफैं मन्त्रालयको कार्यशैलीमा सन्तुष्ट छैन। यो शैली फेरिनुपर्छ। मन्त्रालय पर्यटनमैत्री र व्यवसायमैत्री हुनुपर्छ।
हाम्रो मुलुकलाई पर्यटकीय हिसाबमा विभिन्न विशेषण नै जोडेर व्याख्या गरिन्छ। तर अहिले पनि हाम्रो विदेशी मुद्राको मुख्य स्रोत पर्यटन नभई रेमिट्यान्स बनिरहेको छ, हामी कहाँ चुक्यौं?
महामारीपछि पर्यटक कम छन्। हामीकहाँ चीनबाट पनि धेरै पर्यटक आउँछन्। कोभिडका बेला हामीले भारतसँग एयर बबल सहमति गरेपछि उडान रोकिएन। तीन/चार लाख हाराहारी पर्यटक आउने चीनमा पनि एयर बबल सहमति गरिदिएको भए धेरै पर्यटक आउँथे। चीनले आज भारत, बंगलादेश लगायत देशमा उडान खुलाइसक्यो, नेपाललाई छैन।
आगमन बढाउन सरकारी तहबाटै विभिन्न पहल गर्नुपर्छ। यी कुरामा कूटनीतिक पहल गरे विदेशी मुद्रा आर्जन बढ्छ। यति बेला मन्त्रालयले ध्यान दिएमा चाहिने जति पर्यटक आउँछन्। विदेशी मुद्रा आर्जन गर्न कठिन छैन।
बोर्ड र निजी क्षेत्रको साझेदारी किन हुन नसकेको?
पर्यटनमा काम गर्ने संघसंस्था थुप्रै छन्। तीमध्ये केहीले विगतमा बोर्डलाई पैसा बाँड्ने संस्थाका रूपमा लिए। तर बोर्ड सधैं पर्यटन व्यवसायीलाई बलियो बनाउने र प्रवर्द्धन गर्ने संस्था हो, पैसा बाँड्ने होइन। व्यक्ति र संस्था खुसी बनाउने काम बोर्डको होइन।
बोर्डले अहिलेसम्म निजी क्षेत्रलाई बाहिर राखेर केही काम गरेको छैन। बोर्डले कुनै पनि नीति ल्याउँदा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघसंस्थासँग छलफल गर्दै आइरहेको छ। प्रचारका लागि विदेश जाँदा पनि नयाँ तथा पुराना संघसंस्थालाई समावेश गरेरै लगिरहेको छ। यसरी जाँदा बोर्डले प्रति प्रदेश दुइटा सिट नै छुट्याएको छ। बोर्डले व्यवसायीलाई अझ बलियो बनाउने काम गरिरहेको छ।
कोभिडमा निजी क्षेत्र निकै प्रभावित भयो। समस्या समाधानका उपाय के के हुन सक्छन्?
महामारीकै समयमा पनि हजारौं पर्यटन मजदुरले रोजगारी गुमाउँदा बोर्डले राहत हुने गरी काम गर्यो। युएनडिपीसँगको सहकार्यमा ६ हजार मानिसलाई रोजगारी दियो। उनीहरूले पदमार्गका लागि एक सय ५० किलोमिटर बाटो बनाए। सगरमाथा सफा गरे। मजदुर एसोसिएसनसँग सहकार्य गरेर काठमाडौं, लुम्बिनी लगायतका सम्पदा क्षेत्रमा सफा गरे। यसरी विभिन्न २५ वटा जिल्लामा यो काम भयो।
राज्यको भ्रमण वर्ष सफल पार्न धेरै व्यवसायीले घरखेत बेचेर पर्यटन उद्योगमा लगानी गरेका छन्। बैंकले ब्याज बढाइरहेको छ। समस्या नै समस्या छन्। दुई वर्ष पर्यटन क्षेत्र ठप्प हुँदा कतिपयले पेसा परिवर्तन गरे। सानोतिनो लगानीमा नयाँ व्यवसाय थाले। पहिलेका दक्ष कामदार विस्थापित भए। पर्यटन व्यवसायमा अहिले तिनै कामदारको आवश्यकता बढ्दै गएको छ। सरकारले यसमा ध्यान दिनुपर्छ।