अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकु केभमा २०७७ माघ ४ गते चार कोरियालीसहित सात जना बेपत्ता भए। हिमपहिरो र आँधीमा फँसेका चार जना कोरियाली, एक जना चिनियाँ र दुई जना नेपाली पदप्रदर्शक हिमपहिरोको शिकार भएका थिए। उनीहरूमध्ये दुई जनाको शव तीन महिनापछि फेला पर्यो। बाँकी पाँच जनाको शव त्यसअघि फेला परेको थियो।
अन्नपूर्ण आधार शिविर पदयात्रामा रहेका उनीहरू बाक्लो हिमपातले गन्तव्यमा नपुगी फर्किँदै थिए। हिमपातबीच हिमनदी तर्न नसक्दा उनीहरूको ज्यान गएको थियो। त्यसमाथि हिमआँधीले उनीहरूलाई हिउँको खाल्डोमा धकेल्न सहयोग पुर्याएको थियो।
'एकदम हिउँ परेको बेला हिमनदीले साथीहरूलाई बगायो। आँधीले उडाउलाजस्तो गरेको थियो,' उक्त घटनामा घाइते भएर बाँच्न सफल पर्यटक सहयोगी जगदीश खत्रीले भने, 'हिमपातका बेला हिमनदी तर्न नसक्दा दुर्घटना हुन पुग्यो।'
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल भित्रिने विदेशी पर्यटकको ४० प्रतिशत अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न रूचाउँछन्। बाँकी विभिन्न संघसंस्थाका कार्यक्रममा सहभागी हुने, सगरमाथा आरोहण गर्ने र सहरी क्षेत्र मात्र घुमेर फर्कने पर्यटक छन्।
तर अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटक गाइडले अहिलेसम्म हिमनदी कसरी तर्ने भनेर तालिमसमेत पाएका छैनन्।
अन्नपूर्ण क्षेत्रलाई मुख्य आधार बनाएका पर्यटक गाइड दीलिप आचार्यले हिमाली क्षेत्रका जोखिमबाट जोगिने उपायका बारेमा अहिलेसम्म कुनै तालिम नपाएको बताए।
'पर्यटक गाइडलाई पर्वतारोही गाइडले जस्तै तालिम पाउनुपर्छ,' उनले भने, 'हिमपात र हिमनदी जुनसुकै बेला उर्लिन सक्छ, पर्यटकको ज्यान जोगाउनुपर्छ।'
पदयात्री पर्यटकलाई मात्र होइन, पोखराका पर्वतारोहण सहयोगीले पनि सुरक्षाका बारेमा जानकारी पाउन सकेका छैनन्। जबकि गण्डकीमा मात्र आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाल छन्। अन्नपूर्ण पहिलो ८ हजार ९७ मिटर, धौलागिरि ८ हजार १६७ र मनास्लु ८ हजार १५६ मिटर अग्ला छन्। यी हिमाल आरोहण गर्न चाहने आरोहीले पोखराबाट तालिमप्राप्त अनुभवी गाइड पाउन सक्दैनन्।
नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त घिमिरेले गण्डकी प्रदेश पदयात्रा र पर्वतारोहणको केन्द्र भए पनि यस क्षेत्रमा सरकारी लगानी हुन नसकेको गुनासो गरे।
'नेपाल आउने धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा जान्छन् तर उनीहरूका लागि दक्ष पर्यटक गाइड पाइँदैन,' उनले भने, 'यहाँ हिमाल चढ्न आउनेले पनि काठमाडौंबाट गाइड बोकेर आउनुपर्छ।'
हिमाल आरोहण गाइड शेर्पाबाहेक काठमाडौंबाट आउने पर्यटक गाइड पोखराका जति पनि गुणस्तरीय नभएको उनको दाबी छ। पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था र सरकारले यसतर्फ ध्यान दिन नसकेको उनले बताए।
नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र ब्रिटिस आरोही एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गर्नुभन्दा तीन वर्षअघि, सन् १९५० जुन ३ मा फ्रान्सेली टोलीले ८ हजार ९७ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण गरेका थिए।
विश्वमै पहिलो पटक आठ हजार मिटरमाथि मानिसले पाइला टेकेको भन्दै त्यति बेला विश्वभर चर्चा कमाएको थियो। फ्रान्सेली टोलीका आरोही मौरिस हर्जोगको आरोहण सफल भएको खुसियालीमा फ्रान्स सरकारले तीन दिन राष्ट्रिय बिदा दिएको थियो।
'किलर माउन्टेन' को उपमा पाएको अन्नपूर्ण पहिलो आरोहणका लागि निकै अप्ठ्यारो हिमाल मानिन्छ। यस हिमालमा निकै भीर रहेको र निरन्तर हिमपहिरो झर्ने गरेको आरोहीहरूको अनुभव छ।
विश्वमै पहिलो पटक आठ हजार मिटरमाथि पाइला टेकेका मौरिस हर्जोगले त्यति बेला हात र खुट्टा गुमाउनुपरेको थियो। फ्रान्स फर्केपछि उनले लेखेको 'अन्नपूर्ण' पुस्तक अहिले पनि विश्वमै सर्वाधिक बिक्री भएको पुस्तकमा दरिएको छ।
विभिन्न ६० भाषामा प्रकाशित उक्त पुस्तकले नेपाललाई हिमाल र पर्वतारोहणको देशका रूपमा चिनाउन सफल भएको थियो। त्यति बेला पनि नेपालमा दक्ष पर्वतारोही सहयोगी र गाइड पाउन नसकेको हर्जोगले आफ्नो किताबमा उल्लेख गरेका छन्।
हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको दिनलाई नेपालमा अन्नपूर्ण दिवस घोषणा गरिएको छ। तर उक्त दिवसका महत्व र आगामी कार्यभारका विषयमा भने कुनै पनि सरकारी र गैरसरकारी संस्थाले महत्व दिएका छैनन्।
नेपाल पर्वतारोहण संघ गण्डकीले यही दिवसका अवसरमा कास्कीमा नयाँ पदमार्गको खोजी गरेका छन्। उनीहरूले पोखराबाट घाचोक हुँदै टुसेगाउँ, खुमाइडाँडा, कोर्चोक, नाउजेखर्क, रानीखर्क, तीनशिर पुग्ने नयाँ पदमार्गको खोजी गरेका छन्।
तीनशिरको हिमनदीमा पर्यटक र पर्वतारोही गाइडलाई हिमपहिरो र हिमनदी तर्ने तौरतरिका सिकाएर पिपरखर्क, करुवागाउँ हुँदै पोखरा फर्किने नयाँ रूटको खोजी समेत गरेका छन्।
पोखरा भएर बग्ने सेती नदीको मुख्य मुहान रहेको अन्नपूर्ण र माछापुच्छ्रे हिमालको बीचमा तीनशिर पर्ने नेपाल पर्वतारोहण संघ गण्डकीका सचिव सुदीप गौतमले बताए।
'तीन वटा मूलबाट निस्केको पानी एकै ठाउँमा जम्मा भएर बगेकाले तीनशिर भनिएको छ,' उनले भने, 'यो धेरै वर्षअघि धार्मिक क्षेत्रका रूपमा प्रख्यात थियो।'
उनका अनुसार तीनशिरमा जनैपूर्णिमाका अवसरमा मेला लाग्थ्यो। त्यति बेला कास्की र आसपासका जिल्लाबाट समेत करिब ५ हजार मिटर उचाइको उक्त स्थानमा स्नान गर्न जाने भक्तजनको घुइँचो हुन्थ्यो। अन्नपूर्ण क्षेत्रका स्थापित पदमार्गमा मोटरबाटो बनेपछि नयाँ पदमार्गको रूपमा उक्त क्षेत्रलाई स्थापित गर्न सकिने गौतमले बताए।
'सबैतिर डोजर चलाएर पदमार्ग बिगारियो। नयाँ पदमार्गका रूपमा यो तीनशिर राउन्ड अत्यन्त रोमाञ्चक हुन सक्छ,' उनले भने, 'हामी यस पदमार्गलाई स्थापित गर्छौं।'
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले यस्ता पदमार्गको संरक्षणमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए।
'पदमार्ग पत्ता लगायो, डोजर कुँदाएर बाटो बनाउने होइन,' उनले भने, 'पदमार्गमै पर्यटकलाई सुविधा दिन सक्नुपर्छ। पदमार्ग बिगार्न दिनु हुँदैन।'
उनले पदयात्रीको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।
उक्त पदमार्गको सम्भाव्यता खोजी गर्न बीस जनाको टोली गएका छन्। उनीहरूलाई तीनशिर हिमपहिरोमा पर्वतारोहण सम्बन्धी तालिमसमेत दिने योजना छ। भोजपुरका पर्वतारोही गाइड दोर्ची शेर्पाले हिमपहिरो तर्ने तरिकादेखि हिमालमा आइपर्ने जोखिम र त्यसबाट ज्यान जोगाउने उपायका बारेमा सिकाउने छन्।
'गण्डकीका हिमालमा पर्यटन प्रवर्द्धन गर्न अब पदयात्री र पर्वतारोहीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,' नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले भने, 'पुरानो तरिकाले अब पर्वतारोहण र पदयात्राका समस्या समाधान हुँदैन।'
पर्यटक पथप्रदर्शकलाई आवश्यक सुरक्षा तालिम नहुँदा नेपालका हिमालमा धेरै पदयात्रीले ज्यान गुमाउनुपरेको नेपाल पर्वतारोहण संघ गण्डकीका सदस्य मनशान्त घिमिरले बताए।
'हिमालमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने ज्ञानसमेत कतिपय पथप्रदर्शकमा देखिँदैन,' उनले भने, 'जसले गर्दा हिमालमा पदयात्री हराउने र ज्यान गुमाउने घटना भइरहका छन्, यसतर्फ सरकारले ध्यान दिओस्।'
पर्यटक गाइड तथा पर्वतारोही मनु गुरुङ र शान्तिकला राइले हिमाल आरोहणमा उचित शिक्षा नपाउँदा ज्यान जाने जोखिम मोल्नुपरेको छ। नेपाल र विदेशका गरी आधा दर्जनबढी हिमाल आरोहण गरेका उनीहरूले पहिलो पटक सन् २०११ म अन्नपूर्ण चौथो हिमाल आरोहण गरेर महिलातर्फ रेकर्ड राखेका थिए।
अन्नपूर्ण चौथो आरोहण गरेर फर्किँदा हिउँ परिरहेको थियो। चुलीबाट फर्किँदा अचानक उनीहरू हिमपहिरोमा फस्न पुगे।
'हिमपहिरोमा पर्दा भुँइचालो आएजस्तो जमिन कामेको थियो,' आरोही मनुले भनिन्, 'त्यसपछि हिमपहिरोले बेरेर लग्यो। होस नै रहेन।'
उनका अनुसार त्यति बेला हिमपहिरोले सिधै तल झार्दा चार घन्टा हिँड्नुपर्ने बाटो एकैछिनमा तल पुगेका थिए। उनीहरू जुन ठाउँमा अड्किए, त्यहाँबाट तल खसेको भए ज्यान नै जाने भीर रहेको उनले बताइन्।
'भर्खर परेका नरम हिउँ भएकाले पनि बाँचियो। पुरानो हिउँ भएको भए हामी यहाँ हुन्थेनौं,' उनले भनिन्, 'हिमपहिरोमा परेकाले हामी सबै घाइते भएका थियौं।'
हिमपहिरोमा पर्दा सास फेर्नै मुश्किल भएको अर्का पर्वतारोही एवं पर्यटक गाइड शान्तिले बताइन्।
'हिमपहिरोले अड्किएको ठाउँमा मेरो शेर्पा गाइडले नानी भनेर बोलाए। म त सपनामा बुबाआमाले बोलाएको जस्तो ठानेकी थिएँ,' उनले भनिन्, 'बिस्तारै होसमा आउँदा हिउँमा पुरिएकी थिएँ।'
उनीहरूको अनुभवमा हिमालतिर पदयात्रा जाने पर्यटक गाइड र पर्वतारोहीका गाइडलाई उच्च स्तरको तालिम आवश्यक छ। तर उनीहरूलाई यस्तो अवस्थामा ज्यान जोगाउने उपाय कसैले सिकाएका छैनन्।
हिमालतिर पर्वतारोहणमा होस् वा पदयात्रामा जाने पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने नेपाल पर्वतारोहण संघ गण्डकीका सचिव सुदीप गौतम बताउँछन्।
'नेपालको पर्वतारोहण र पदयात्रा सकेसम्म सुरक्षित पार्नुपर्छ,' उनले भने, 'हामीले उपयुक्त तालिम पायौं भने पर्यटक र पर्वतारोहीको ज्यान जोगिन्छ। नेपालका हिमाल सुरक्षित भए पर्यटक पनि बढ्न सक्छन्।'
हिउँ भएका ठाउँमा अहिले पनि कतिपय पर्यटक र गाइड हिमपहिरोमा फस्ने, डुब्ने, बगाउने जस्ता घटनाका शिकार हुनुपरेको उनीहरूको अनुभव छ। मनु र शान्तिले हिमाल आरोहण र पदयात्रामा जाँदा पटक पटक यस्ता समस्या देखेको बताए।
'हिमालमा कहाँ पाइला राख्ने, कहाँ नराख्ने भनेर त तालिम लिनुपर्छ,' उनीहरू भन्छन्, 'कुन ठाउँमा पाइला राख्दा सुरक्षित हुन सकिन्छ, त्यसबारे पहिला नै यकिन गर्न सक्नुपर्छ।'
हिमालमा पदयात्रा गर्ने पर्यटक गाइडलाई पनि यस्ता तालिम अनिवार्य दिनुपर्ने उनीहरूको जोड छ।
अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हिँकुकेभमा कोरियाली र चिनियाँ पर्यटक लगेका गाइडले यसबारे जानकारी पाएका भए उक्त दुर्घटना नहुने उनीहरूको तर्क छ।
यस्तै हिमपात र आँधीका कारण पनि धेरै पर्यटक र उनीहरूका नेपाली सहयोगीले ज्यान गुमाउन परेको उनीहरूले बताए।
उनीहरूको एउटै गुनासो छ, 'नेपालमा धेरै विदेशी र नेपालीले हिमालमा ज्यान गुमाउँदासमेत सरकारले सुरक्षाका उपाय सिकाउन कुनै चासो दिएन।'