पर्यटन विभागका अनुसार चालु आर्थिक वर्ष मात्र देशभर १८ वटा तारे होटल सञ्चालनमा आएका छन्।
विभागले सार्वजनिक गरेको होटल स्तर वर्गीकरण अनुसार हेरिटेज एवम् बुटिक होटल तीन वटा, पाँचतारे दुइटा, चारतारे नौ वटा, तीनतारे दुइटा र दुईतारे दुइटा सञ्चालनमा आएका हुन्।
काठमाडौंमा मात्र तीन अर्ब रूपैयाँ लगानीमा तीन वटा बुटिक होटल सञ्चालनमा आएका छन्।
यसमध्ये एक हो गत असारबाट सञ्चालनमा आएको इमिरो प्लाजा प्रालि (बसेरा बुटिक)। यसले विभागबाट लक्जरी स्तर पाएको छ। एक अर्ब ५० करोड रूपैयाँ लगानीमा सञ्चालित यो होटल बबरमहलमा छ। यो बुटिक होटलमा ६० वटा कोठा र ६५ वटा बेड छन्।
त्यस्तै गत साउनबाट सञ्चालनमा आएको होटल पबेरा प्रालि (पबेरा बुटिक) ले पनि डिलक्स स्तरको वर्गीकरण पाएको छ। ८० करोड रूपैयाँ लगानीमा बनेको पबेरामा ६२ वटा कोठा र ९६ बेड छन्।
७० करोड रूपैयाँ लगानीमा बनेको होटल मनास्लु प्रालि गत कात्तिकबाट सञ्चालन आएको हो। काठमाडौंको लाजिम्पाटमा रहेको यो होटलमा ८० वटा कोठा र ९९ वटा बेड छन्।
यसअघि द्वारिकाज काठमाडौं भिलेज होटल प्रालिले मात्र बुटिक होटलका रूपमा स्तर वर्गीकरण पाएको थियो। थपिएका तीन वटासँगै नेपालमा स्तर वर्गीकरण (तारे) बुटिक होटलको संख्या चार पुगेको छ। यी सबैमा गरेर तीन सय ३९ कोठा र पाँच सय ५४ बेड छन्। यिनमा चार सय ९८ जनाले रोजगारी पाएका विभागले जनाएको छ।
परम्परागत कला, संस्कृति र मौलिकता झल्काउनेहरूलाई हेरिटेज एवम् बुटिक होटल मानिन्छ। स्तर वर्गीकरण हुन थालेसँगै आकर्षक सेवासुविधासहित यस्ता होटल बढ्न थालेका छन्।
त्यस्तै चालु आर्थिक वर्ष पाँचतारे स्तरका दुइटा होटल सञ्चालनमा आएका छन्। दुई अर्ब लगानीमा होटल द किङबरी झापा र दुई अर्ब ८० करोड रूपैयाँ लगानीमा हायात प्लेस (सिटी होटल) काठमाडौं सञ्चालनमा आएका हुन्। विभागका अनुसार यी दुइटा होटल थपिएसँगै पाँचतारे होटलको संख्या १७ पुगेको छ।
चारतारेमा होटल स्टारलाइट नीलदेवी, कल्पतरू होटल एन्ड कौशिकी ब्यांकेट, मौर्य होटल, होटल माउन्ट कैलाश, होटल सिटी प्यालेस, होटल सिराइचुली, हिमाल वाटरपार्क एन्ड भिलेज, हेरिटेज होटल स्विट एन्ड स्पा र बिग होटल प्रालि सञ्चालनमा आएका छन्।
तीनतारे स्तरमा दुइटा होटल थपिएका छन्- होटल द फ्लेमिंगो र मिराज हस्पिटालिटी।
होटल जनजीविका र होटल एम्ब्रोसिया गरी दुइवटा दुइतारे होटल पनि यसै आर्थिक वर्ष थपिएका हुन्।
२०६८ सालदेखि विभागमा एक तारे होटल भने दर्ता भएका छैनन्।
गत आर्थिक वर्ष एउटा पाँच तारे डिलक्स होटल पनि सञ्चालनमा आएको थियो। ०७७ सालमा झापाको धूलाबारीमा भेगस सिटी इन्टरनेसनल प्रालिको होटल (मेची क्राउन) ले पाँचतारे वर्गीकरण पाएको छ। यस वर्ष भने डिलक्स होटलको संख्या थपिएको छैन।
यो वर्ष वैशाख मसान्तसम्मको तथ्यांकअनुसार १२ वटा होटलहरूमा ११ अर्ब १५ करोड रूपैयाँ लगानी थपिएको छ। बाँकी ६ वटाको भने लगानी तथ्यांक उपलब्ध भइसकेको छैन।
योसँगै देशभर बुटिक चार, पाँचतारे १८ (एउटा डिलक्ससहित), चारतारे २७, तीनतारे ३४, दुईतारे ४३ र एकतारे ३७ वटा गरी तारे होटलको संख्या एक सय ६३ पुगेको छ। यी सबैमा दस हजार १३९ वटा कोठा र १६ हजार ४१ वटा बेड छन्। यिनमा दस हजार ४ सय ७५ जनाले रोजगारी पाएका विभागले जनाएको छ।
पछिल्लो समय पर्यटन स्तरका रिसोर्टको संख्या पनि बढेको छ। उद्योग विभागका अनुसार हाल मुलुकभर दुई सय १८ वटा रिसोर्ट दर्ता भएका छन्। यीमध्ये करिब ३ अर्ब रूपैयाँ लगानीमा चालु आर्थिक वर्ष पाँच वटा रिसोर्ट दर्ता भएका छन्।
पहिलोपटक नेपालमा २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो। त्यसयता करिब पचास वर्षको इतिहासमा डेढ सयभन्दा बढी तारेहोटल सञ्चालनमा आएको विभागको तथ्यांकमा उल्लेख छ। होटल संघ (हान) नेपालले केही महिनाअघि गरेको एक सर्वेक्षण अनुसार मुलुकभर होटलमा १५ खर्ब रूपैयाँभन्दा बढीको लगानी भइसकेको छ।
होटल निर्माणको काम सकिएपछि सञ्चालकले पर्यटन विभागमा दर्ता (स्तर वर्गीकरण) गर्ने गरेका छन्। होटलको क्षेत्रफल, भौतिक सेवा सुविधा लगायतका आधारमा विभागले अनुगमन गरेर स्तर वर्गीकरण गर्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलको वर्गीकरणका लागि मापदण्ड तोकेको छ। विभिन्न तारे होटल सञ्चालन गर्न छुट्टाछुट्टै प्रावधान छन्।
सामान्य होटलमा भौतिक सुविधा र सेवा, स्वास्थ्य सेवा, खाना, कोठा, पार्किङ क्षमता लगायत अन्य सुविधा हुनुपर्ने मापदण्ड छ। चारतारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा भने मौलिक नेपाली खानाका लागि छुट्टै रेस्टुरेन्टसहित विभिन्न देशका खानाको स्वाद दिनुपर्छ। चारतारे माथिल्ला स्तरका होटलमा अनिवार्य स्विमिङ पुल अन्तर्राष्ट्रिय स्तरको ब्युटी सैलुन र सवारीसाधन पार्किङको क्षमता तोकिएको छ।
सामान्यतया काठमाडौं उपत्यकाभित्र एकतारेमा २० वटा, दुईतारेमा ४०, तीनतारेमा ६०, चारतारेमा ८०, पाँचतारेमा सय वटा र पाँचतारे डिलक्स होटलमा एक सय पचास वटा कोठा हुनुपर्छ। उपत्यका बाहिरको हकमा भने हरेक तारे होटलमा काठमाडौंको भन्दा पाँच वटा कम भए पुग्नेछ।
होटलअनुसार डबल बेड रूम, स्विट, क्लब, इन्टर कनेक्टिङ, बेबी सिटिङ, अपांगतामैत्री लगायतका रूम हुनुपर्ने प्रावधान छ।