हेरिटेज एवम् बुटिक होटल अर्थात् परम्परागत कला, संस्कृति र मौलिकता झल्काउने सुविधासम्पन्न होटल। पछिल्लो समय काठमाडौं उपत्यकामा यस्ता होटल संख्या बढ्न थालेका छन्। केही समयअघि पर्यटन विभागले यस्ता होटलको स्तर वर्गीकरण पनि गर्न थालेको छ।
विभागबाट लक्जरी स्तर पाएको यस्तै बुटिक होटल हो इमिरो प्लाजा प्रालि अर्थात् बसेरा बुटिक। काठमाडौं, बबरमहलमा रहेको यो होटल सञ्चालनमा आएको एक वर्ष भयो।
'तीन सय वर्ष पुरानो परम्परागत वास्तुकला प्रतिबिम्बित गरी बसेरा बुटिक निर्माण गरिएको हो,' सञ्चालक विशाल पण्डित भन्छन्।
विशालका अनुसार बसेरा बुटिक होटल डेढ अर्ब रूपैयाँ लगानीमा बनेको हो। २०७२ सालबाट बनाउन थालिएको होटल कोरोनाअघि खुल्न तयार थियो। कोरोनाका कारण समय धकेलियो र गत वर्ष असारदेखि बल्ल पूर्ण रूपमा सञ्चालनमा आएको हो।
निर्माण कम्पनीमा आबद्ध विशालले पहिलो पटक होटलमा लगानी गरेका हुन्। विदेशी र स्वदेशी पर्यटक लक्षित गरी सञ्चालनमा ल्याइएको बसेराको व्यावसायिक गति राम्रो भएको उनी बताउँछन्।
'तारा स्तरको बुटिक होटल बसेरा शान्त र बस्नका लागि आनन्दमय छ। कोभिडले केही असर पुर्याए पनि अहिले चहलपहल बढेको छ, सबैले रूचाउनुभएको छ,' उनले भने।
बसेराका ग्राहकहरूमा ६० प्रतिशत विदेशी पर्यटक र ४० प्रतिशत स्वदेशी भएको होटलका सञ्चालन प्रबन्धक सुरेन्द्र कपालीले बताए। अन्तर्राष्ट्रिय स्तरमा होटलको बजारीकरण तथा प्रचारप्रसार राम्रो गरिरहेकाले विदेशी ग्राहक बढेको उनको भनाइ छ।
'एक वर्षमै होटलमा ४० प्रतिशत ग्राहक आइरहेका छन्। पर्यटक मात्र नभई व्यवसायी र आम मानिसहरू पनि हाम्रा ग्राहक हुन्,' कपालीले सेतोपाटीसँग भने, 'यो ठाउँ (बबरमहल) आफैंमा होटलका लागि व्यावसायिक हिसाबले राम्रो छ। सिंहदरबार र अरू ठूला कार्यालयहरू यता छन्। त्यहाँका कर्मचारी, मन्त्रीदेखि उनीहरूलाई भेट्न आउनेहरू हाम्रा सम्भावित ग्राहक हुन्। पर्यटकहरूका लागि पनि नजिकै भयो, विमानस्थलबाट तीन किलोमिटर मात्र दुरीमा छ।'
साढे दुई दशक होटल व्यवसायमा बिताएका सुरेन्द्र कपाली आगामी दिनमा बसेरा बुटिकको व्यवसाय निकै फस्टाउने बताउँछन्। हाल भारत, युएई, बेलायत, सिंगापुर, अमेरिका लगायत देशका पर्यटक आउँछन्। काठमाडौं आएर अन्य पर्यटकीय गन्तव्यमा जाने हुँदा प्रायः बसाइ दुईदेखि तीन दिनको मात्र हुन्छ।
बसेरामा डिलक्स ३८ वटा, सुपर डिलक्स ६ वटा, स्विट ११ वटा र रोयल स्विट एउटा गरी ५६ वटा कोठा छन्। डिलक्स कोठाको प्रतिव्यक्ति ६ हजार पाँच सय र दुई जनाको आठ हजार रूपैयाँ पर्छ। बेड एन्ड ब्रेकफास्टसहित स्विट रूमको १४ हजार रूपैयाँ पर्छ। यसमा मिनिबारको सुविधा छ। प्रेसिडेन्टल स्विटमा बस्न २० हजार रूपैयाँ तिर्नुपर्छ।
स्पा, जिम, पार्लर र स्विमिङ पुल त भइहाले। बसेरामा परम्परागत शैली झल्काउन काठ प्रयोग धेरै गरिएको छ। कपालीका अनुसार यी काठ केही स्वदेशी हुन्, केही विदेशी। सग्ला काठ सजावटसँगै विभिन्न कलाकृति यहाँ छन्। होटलको भुइँतलादेखि सातौं तलासम्म प्राचीनता झल्काउने झ्याल, टुँडाल र ढोकाहरू छन्।
होटलले पहिलो प्राथमिकता खानालाई दिएको सहायक प्रबन्धक सुशान्त नेपाल बताउँछन्। यहाँ तीन वटा रेस्टुरेन्ट छन्- नेपाली र नेवारी भान्सा, मन्त्र र बेसक्याम्प क्याफे।
होटलको सबभन्दा माथि, सातौं तलामा रहेको नेपाली-नेवारी भान्साबाट काठमाडौं उपत्यकाको दृश्य देख्न सकिन्छ। त्यसैले पनि धेरै ग्राहकको रोजाइमा यो भान्सा पर्ने नेपालले जानकारी दिए। यहाँ खाना सेटदेखि खाजाका विभिन्न परिकार पाइन्छ।
थाली सेट खाने दैनिक दुई सयभन्दा बढी हुन्छन्। यसमा मेलम्चीको बासमतीको भात, मुस्ताङको आलु, कर्कलो, स्थानीय सागसब्जी लगायत हुन्छ। त्यस्तै बिरयानी, चिकेन कबाब, बझाङ्गी मटन, ब्रोकाउली र मुगी सुप, बेकड योगर्ट (होटलले आफैं उत्पादन गर्ने दही), हाँसको छोइला, खाजा सेट धेरैले रूचाएका उनले बताए।
भान्सामा नेपाली चुल्हो छ। खाना पकाउने चार जना कर्मचारी छन्।
होटलको भुँइतलामा छ मन्त्र रेस्टुरेन्ट। यो चौबीसै घन्टा खुला हुने रेस्टुरेन्ट हो। राति केही खान चाहने पाहुनाहरू र बाहिरबाट खान आउने ग्राहकलाई लक्षित गरी यो रेस्टुरेन्ट चलाइएको हो। मन्त्रले जुनसुकै बेला कोठामै खाना पुर्याइदिन्छ। रेस्टुरेन्टमा बस्न र खान रारा र तिलिचो नाम दिइएका दुइटा डाइनिङ कोठा छन्।
बसेराको भुइँतलामै ब्रेकफास्टका लागि बेसक्याम्प क्याफे छ। यसमा बेकरी परिकार, प्रोटिन र सलादहरू पाइन्छ।
'मेनुभन्दा पनि क्याफेमा केही फरक सेवा दिइरहेका छौं। स्वास्थ्यलाई मध्यनजर गरेका छौं,' नेपालले भने।
यो बुटिक होटलमा प्रायः दिउँसो खाजा, विशेषगरी मःम खानेहरू पनि धेरै हुने नेपाल बताउँछन्। मःममा चिल्लो र मसला नहुने भएकाले आसपासका कार्यालयका कर्मचारी र अन्य ठाउँबाट पनि अर्डर आउने उनले बताए। त्यस्तै विदेशी पर्यटक र पाइलटहरूले यहाँको विशेष दही रूचाएका छन्।
'एयरलाइन्सका पाइलटहरू आएर बेकड योगर्ट खाएर जानुहुन्छ,' नेपालले भने।
हेरिटेज एवम् बुटिक होटलले मौलिक र सांस्कृतिक कार्यक्रमहरू गरेर पाहुनालाई देखाउनु होटलको मापदण्डमै छ। यो बुटिक होटलले पनि मौलिक एवम् सांस्कृतिक कार्यक्रमको तयारी गरेको उनले बताए।
'कात्तिक, चर्या, कालभैरव नाच र हाम्रा विभिन्न समुदायका नाच देखाउँछौं। यी नाचका लागि उपयुक्त स्टज पनि छ,' उनी भन्छन्, 'होटलमा पर्यटकको चहलपहल बढेपछि त्यस्ता कार्यक्रम हुन्छ।'
बसेरामा तीन सय मानिस अटाउने सभाकक्ष र ब्यांकेट हल छ। यहाँ सरकारी, गैरसरकारी संस्थाका कार्यक्रम, बिहे, पास्नी, जन्मदिन लगायतका कार्यक्रमहरू गर्न सकिन्छ। होटलमा अहिले
बसेरामा तीन सय मानिस अटाउने सभाकक्ष र ब्यांकेट हल छ। यहाँ सरकारी, गैरसरकारी संस्थाका कार्यक्रम, बिहे, पास्नी, जन्मदिन लगायतका कार्यक्रमहरू गर्न सकिन्छ। यो होटलमा अहिले ८० जना कर्मचारी छन्।
सबै तस्बिर सौजन्यः बसेरा बुटिक होटल