विभिन्न वायुसेवा कम्पनीका ३४ वटा हेलिकप्टर र जहाज रात्रि पार्किङका लागि मंगलबार काठमाडौंबाहिरका विमानस्थल पुगेका थिए। यी हेलिकप्टर र जहाजले बुधबार तिनै विमानस्थलबाट पहिलो उडान भरेका छन्।
काठमाडौंबाहिर तोकिएका आधार विमानस्थलबाट पहिलो उडान भर्दा अकुपेन्सी बढेको वायुसेवा सञ्चालक संघले जनाएको छ।
‘सोमबारको तुलनामा मंगलबार र मंगलबारको तुलनामा बुधबार यात्रु अकुपेन्सी बढेको छ,’ संघका प्रवक्ता योगराज कँडेल शर्माले सेतोपाटीसँग भने।
बर्खा याम भएकाले सडक यातायातभन्दा हवाई यात्रा गर्नेको संख्या बढेको छ। यसले बुधबार बिहानको पहिलो उडान उत्साहजनक रहेको शर्माले बताए।
सरकारले असार १३ (सोमबार) देखि रात्रि पार्किङका लागि काठमाडौंबाहिरका विमानस्थल पुग्नुपर्ने र पहिलो उडान त्यहीँबाट गर्नुपर्ने नियम लागू भएपछि २० वटा जहाज र १४ वटा हेलिकप्टर तोकिएको आधार विमानस्थल पुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाजहरूलाई काठमाडौंबाहिरका ६ वटा विमानस्थल पठाइएको थियो।
बुद्ध एयरका ५ वटा जहाज फरक-फरक विमानस्थल पुगेका थिए। श्री एयरलाइन्सका तीनटा र यतिका दुइटा जहाज विराटनगर पुगेका थिए। सीता र समीट एयरका चारवटै र तारा एयरको एउटा जहाज नेपालगन्ज विमानस्थलमा पार्किङ गरिएको थियो।
यी सबै जहाजले बुधबार तिनै विमानस्थलबाट पहिलो उडान गरेको प्रवक्ता सिटौलाले जानकारी दिए।
नागरिक उड्डयन प्राधिकरणले यही असार ५ गते हेलिकप्टर र हवाईजहाज लागि तोकिएको आधार विमानस्थलमा राति पार्किङ गरी पहिलो उडान त्यहीँबाट गर्न निर्देशन दिएको थियो।
यसअनुसार हेलिकप्टरले असार ७ बाट र हवाईजहाजहरूले असार १३ बाट राति बास बस्न काठमाडौंबाहिरका विमानस्थल जानुपर्ने निर्देशन थियो।
प्राधिकरणले ५५ वटा जहाज र हेलिकप्टरलाई धनगढी, नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर, चन्द्रगढी लगायत विमानस्थलमा आधार तोकिदिएको छ। यीमध्ये विभिन्न कम्पनीका १८ वटा जहाज बिग्रिएर रिमोट पार्किङमा राखिएको प्रवक्ता सिटौलाले बताए। काठमाडौं विमानस्थलको जहाज पार्किङ क्षमता १७ वटा हो।
वायुसेवा कम्पनीहरूले भने केही जहाज बिग्रिएर ह्यांगरमा राखिएको र केही मर्मत भइरहेकाले बिस्तारै तोकिएको आधार विमानस्थलमा जाने बताएका छन्।