चालु आर्थिक वर्षमा मात्र देशभर आठ वटा क्यासिनो सञ्चालनमा आएका छन्। पर्यटन विभागले सार्वजनिक गरेको 'होटल, रिसोर्ट, क्यासिनो र साहसिक पर्यटन सम्बन्धी विवरण २०७८' अनुसार यस वर्ष साना-ठूला गरी आठ वटा क्यासिनो सञ्चालनमा आएका हुन्।
आठमध्ये दुई वटा ठूला र ६ वटा मिनी (साना) क्यासिनो (मेसिन तथा उपकरणको माध्यमबाट मात्र खेलिने खेल) छन्।
झापाको धूलाबारीमा भेगास रिक्रियसन नेपाल प्रालिले ०७८ साल असोजबाट क्यासिनो सञ्चालनमा ल्याएको हो। यो क्यासिनो देशकै एक मात्र पाँचतारे डिलक्स होटल मेची क्राउनमा छ। मेची क्राउनमा 'क्यासिनो भेगास' को व्यवस्थापन भारतीय क्यासिनो कम्पनी बिग ड्याडीले गरेको छ।
होटल सञ्चालकमध्येका एक बलराम सापकोटाका अनुसार भारतबाट आउने व्यापारी तथा धनाढ्यलाई लक्षित गरी यहाँ क्यासिनो खोलिएको हो। हाल यो क्यासिनो चौबीसै घन्टा चलिरहेको उनले बताए।
'एक पटकमा नौ सय जनाभन्दा बढीले खेल्न सक्छन्,' उनले सेतोपाटीसँग भने, 'क्यासिनो चलाउन मात्र चार सय जना कर्मचारी छन्। दैनिक ५० देखि दुई सय जना हाराहारी क्यासिनो खेल्न भारतीयहरू आइरहेका छन्। क्यासिनोकै कारण पनि होटलको व्यवसाय राम्रो हुने अपेक्षा छ।'
काठमाडौं ठमेलमा रहेको छायादेवी कम्प्लेक्सको क्यासिनो पनि यही वर्ष सञ्चालनमा आएको हो। यो पनि ठूलो क्यासिनो हो। होटल एलफ्टद्वारा सञ्चालित यो क्यासिनोले २०७८ साल मंसिरमा विभागबाट सञ्चालन अनुमति पाएको थियो।
त्यस्तै बाँकेका बेलिज इन्टरटेन्मेन्ट कम्पनीको होटल स्नेह प्रा.लि, भेन्यू रिक्रिएसन कम्पनीको होटल स्टारलाइट नीलदेवी र ओम त्रयम्बकम् इन्टरटेन्मेन्ट कम्पनीको कल्पतरू होटल एन्ड कौशिकी बैंकेटमा मिनी क्यासिनो सञ्चालनमा आएका छन्।
भैरहवाको सिद्धार्थ गेमिङ जोन कम्पनीको होटल नान्स परिसर, नेपालगञ्जको सेपियर इन्टरटेन्मेन्ट टेक्नोलोजी कम्पनीको होटल सिटी प्यालेस र पर्साको गोल्डेन फिंगर गेमिङ जोन कम्पनीको हिमाल वाटर पार्क एन्ड भिलेजमा पनि मिनी क्यासिनो सञ्चालनमा आएका हुन्।
यी ८ वटासँगै अब देशभर क्यासिनोको संख्या २३ पुगेको छ। यसमध्ये १० वटा ठूला र बाँकी मिनी क्यासिनो हुन्।
क्यासिनो सञ्चालनमा विदेशी लगानी पनि भित्रिरहेको छ। विभागका अनुसार हाल कम्तीमा १० प्रतिशत स्वदेशी र ९० प्रतिशतसम्म विदेशी लगानीमा क्यासिनो सञ्चालन गर्न पाइने नीति छ। त्यसैले यसमार्फत विदेशी लगानी भित्रिएको विभागले जनाएको छ।
सामान्यतया पाँचतारे होटल वा सोसरहको डिलक्स रिसोर्टमा ठूला क्यासिनो चलाउन पाइन्छ।
चारतारे होटलमा साना (मिनी) क्यासिनो चलाउने अनुमति दिइन्छ। अन्य तारे होटलले भने क्यासिनो सञ्चालन गर्न पाउँदैनन्।
क्यासिनो नियमावली- २०७० का अनुसार ठूला क्यासिनो सञ्चालनका लागि २५ करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्छ। मिनी क्यासिनोका लागि १५ करोड भए पुग्छ।
चुक्ता पुँजीलाई मात्र आधार मान्ने हो भने हालसम्म क्यासिनोमा करिब साढे चार अर्ब रूपैयाँ लगानी पुगिसकेको छ। देशभरका क्यासिनोबाट १२ हजार बढीले रोजगारी पाएका विभागको तथ्यांक छ।
विदेशी पर्यटकको मनोरञ्जनका लागि परम्परागत रूपमा वा आधुनिक मेसिन/उपकरणको माध्यमबाट खेलिने क्यासिनोमा लगानी बढ्दै गएको विभागका महानिर्देशक तारानाथ अधिकारी बताउँछन्।
'पर्यटकलाई आकर्षित गराउन ठूला तारे स्तरीय होटलहरूले कम्पनी खोलेर क्यासिनो अनुमति लिइरहेका छन्,' महानिर्देशक अधिकारीले भने, 'अहिले तराईका सीमावर्ती क्षेत्रमा भारतीय पर्यटकलाई लक्षित गर्दै क्यासिनो खुल्ने क्रम बढेको छ।'
क्यासिनो सञ्चालनका लागि कुनै पनि होटलले नयाँ कम्पनी खोल्नुपर्छ। त्यसको सेयर सदस्य भने होटल हुनेछ। होटलकै नाममा भने क्यासिनो सञ्चालन गर्न नमिल्ने अधिकारीले जानकारी दिए।
उनका अनुसार क्यासिनो कम्पनी दर्ता गर्नुअघि पर्यटन विभागको राय लिनुपर्नेछ। विभागले क्यासिनो सञ्चालक, सरकारलाई तिर्न वा बुझाउन बाँकी रकम छ वा छैन, सञ्चालकको पृष्ठभूमि लगायत विषयमा बुझेर अनुमति दिन्छ। क्यासिनो कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएपछि पर्यटन विभागले इजाजत दिन्छ।
आगामी आर्थिक वर्षबाट क्यासिनोको रोयल्टी बढ्ने पनि अधिकारीले जानकारी दिए।
हाल पाँचतारे होटलमा सञ्चालित क्यासिनोले वार्षिक चार करोड रूपैयाँ र मिनी क्यासिनोले एक करोड रूपैयाँ सरकारलाई रोयल्टी बुझाउँदै आइरहेका छन्। आगामी आर्थिक वर्षबाट भने ठूलाले पाँच करोड र मिनी क्यासिनोले डेढ करोड रूपैयाँ रोयल्टी बुझाउनु पर्ने उनले जानकारी दिए।