६ वटा हेलिकप्टर कम्पनीका १४ वटा हेलिकप्टर काठमाडौंबाहिर राती पार्किङका लागि तय भएका छन्। हेलिकप्टर कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबीच गत साता यसबारे सम्झौता भएको हो।
एयर डाइनास्टी हेलि सर्भिसेजको एउटा, फिस्टेल एयरको एउटा, माउन्टेनको एउटा हेलिकप्टर काठमाडौंबाहिर राती पार्किङका लागि तय भएका हुन्।
त्यस्तै, प्रभु हेलिकप्टरका चार वटा, श्री एयरलाइन्सका पाँच वटा, सिम्रिक एयरको दुई वटा हेलिकप्टर काठमाडौंबाहिर पार्किङका लागि तय भएका छन्।
यी हेलिकप्टर पोखरा, नेपालगञ्ज, लुक्ला र सिमीकोट विमानस्थलमा पार्किङमा पुग्ने र सोही विमानस्थलबाट पहिलो उडान गर्ने वायु सेवा संचालक संघले जनाएको छ।
अल्टीच्युड, हेलि एभरेस्ट, मनाङ एयर, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार बेस बाँडफाड भएको छ।
सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकेको हो।
उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले असार ७ गतेबाट हेलिकप्टर कम्पनीहरूलाई काठमाडौंबाहिर राती पार्किङका लागि निर्देशन दिएको थियो।
प्राधिकरणले १० वटा हेलिकप्टरको अपरेटिङ बेस काठमाडौंस्थित विमानस्थलमा तोकेको थियो। यद्यपि हेलिकप्टर कम्पनीहरूले यहाँ पार्किङको संख्या थप्न माग गरेको थियो। प्राधिकरणले हेलिकप्टर कम्पनीहरूलाई आपसी समझदारी गर्न सुझाव दिएको थियो। त्यससँगै गत साता वायु सेवा संचालक संघले अपरेटिङ बेसको प्रस्ताव प्राधिकरण र त्रिभुवन विमानस्थललाई बुझाएको हो।
संघले बुझाएको प्रस्तावअनुसार हेलिकप्टर कम्पनीहरूको अपरेटिङ बेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्वीकृत गरेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।