संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ तालिम सुरू भएको छ।
जिविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) मा तालिम सुरू भएको हो।
नेपाल पर्यटन बोर्ड, एसटिएलआरपी परियोजनासँगको साझेदारीमा नेपाल एसोसियसन अफ र्याफटिङ एजेन्सीज (नारा) को आयोजनामा तथा नाथमसँगको सहकार्यमा ४० जना रिभर गाइड तालिम प्रदान गर्न लागिएको हो। तालिममा १२ महिला र २८ जना पुरुष गरी ४० जनाको सहभागिता छ।
परियोजनाले गत वर्ष अल्पकालीन रोजगारीलाई जोड दिएकोमा अहिले केही नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउने गरी यस प्रकारका तालिम सञ्चालन गरेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।
तालिमको उद्घाटनमा नाथममा विभागीय प्रमुख अजय ढकालले दक्ष रिभर गाइडहरूको माग रहकोले यस तालिमबाट त्यो आवश्यक्ता पूर्ती हुने बताए। उनले नाथमबाट उत्पादित जनशक्तिको बजारमा राम्रो छाप रहेकोले यस तालिमबाट उत्पादित जनशक्तिले समेत त्यो छवीलाई कायम राख्ले विश्वास व्यक्त गरे।
नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्ड तथा एसटिएलआरपी परियोजनासँगको सहकार्यमा नाराले यस अघि महिला रिभर गाइडको निः शुल्क तालिम संचालनमा ल्याएको जानकारी दिँदै यो तालिमबाट थप दक्ष जनशक्ति उत्पादन हुने बताए। उत्पादित जनशक्तिलाई स्वदेश तथा विदेशमा रोजगारीको प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो।
नाराका निर्वतमान उपाध्यक्ष मेघ आलेले यसलाई तालिमको रूपमा मात्र नलिई यस क्षेत्रमा नै भविष्य बनाउने गरी काम गर्न आग्रह गरे।
एसटिएलआरपी परियोजनाले नेपाल एसोसियसन अफ र्याफटिङ एजेन्सीज (नारा) सँगै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल एशोसिएशन नेपाल (हान) तथा विभिन्न गाउँपालिकाहरूको सहकार्यमा अल्पकालीन परियोजना संचालन गरी गत वर्ष करिब ६ हजार जनालाई अल्पकालीन रोजगारी दिएको थियो।