दोलखाको सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि 'रक क्लाइम्बिङ एण्ड हाइकिङ' रुट सुरू गरिएको छ। सोक्ला पर्यटन विकास समाजले पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित साहसिक पर्यटकीय गतिविधि सुरू गरेको हो।
आन्तरिक र बाह्य पर्यटक भित्र्याएर आर्थिक समृद्धि र विकासको सम्भावना भएको सोक्लामा रक क्लाइम्बिङ एण्ड हाइकिङ सुरू गरिएको विकास समाजले बताएको छ। खेलाप, सोक्ला र चक्पासँग जोडिएको तीन वटै पहरामा मिनी रक क्लाइम्बिङ, एड्भान्स र हाइ लेभलको रक क्लाइम्बिङ गर्न सकिने विज्ञ तथा अन्तर्राष्ट्रिय गाइड छिरिङ जाङबु शेर्पाले बताए।
‘सोक्लाको चट्टान, भूगोल र वातावरणीय दृष्टिले रक क्लाइम्बिङसँगै यहाँ साइक्लिङको लागि उपयुक्त छ। स्वेदशीभन्दा पनि विदेशीहरूका लागि यो उत्तम गन्तव्य हो,’ मान्टेड गाइड शेर्पाले भने, ‘अन्डर ग्राउण्ड एडभेन्चर टुरिजमका लागि सोक्लाको भूगोल छनौटमा छ। यहाँ पाँच वटा रुट बनाएर रक क्लाइम्बिङ गर्न सकिन्छ।’
उनकाअनुसार गुमडाँडाको डिलबाट पुनः प्याराग्लाइडिङ गरेर तामाकोशी किनारामा ल्यान्डिङ गर्नका लागि वेस क्याम्प बनाउनु पर्नेछ। सोक्ला खेलाप क्षेत्रमा एग्रो टुरिजमसँगै जिप लाइन र बञ्जी जम्प निर्माण गरेर विदेशी पाहुन भित्र्याउन सक्ने शेर्पाले बताए।
फ्रान्सका नागरिकहरूले समेत सोक्ला गाउँको रक क्लाइम्बिङ क्षेत्रको भ्रमण गरेका छन्। नेपालमा सामाजिक कार्य गर्दै आएका १५ जनाको समूहले यस क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गर्ने बताएका छन्। सोक्लाको पर्यटकीय गन्तव्यको उत्कृष्ट तस्वीर र भिडिओलाई सामाजिक सञ्जालसँगै फ्रान्समा प्रचार गर्ने उनको भनाइ छ।
दोलखाबाट फ्रेन्च नागरिकहरूले ‘सोक्ला रक क्लाइम्बिङ एण्ड हाइकिङ २०७९’ सुरू गरेका थिए। उनीहरू दोलखा, दुङगल, गंङरास, डिलढुंगा चक्पा हुँदै सोक्ला पुगेका थिए। सोक्लाश्वरी पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले दोलखाको समृद्धि र विकासका लागि पर्यटन नै प्रमुख आधार भएको बताए।