पछिल्लो समय साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसायमा लगानी बढ्दै गएको छ। आन्तरिक र विदेशी पर्यटकहरू आकर्षित हुन थालेसँगै देशभर बन्जी-जम्प, जीपलाइन, मोटरबोट, म्याराथन लगायतका साहसिक पर्यटनमा लगानी बढ्दै गएको हो।
चालु आर्थिक वर्षमा मात्र देशभर १३ वटा साहसिक पर्यटन सेवा दिने कम्पनीहरू पर्यटन विभागमा दर्ता भएका छन्। जसमा सातवटा मोटरबोट जेटस्की, दुइटा बन्जी जीपलाइन, स्काइ साइक्लिङ र स्विङ एक–एक वटा थपिएका छन्। यससँगै हालसम्म देशभर साहसिक पर्यटन सेवा दिने कम्पनीहरूको संख्या ३६ पुगेको छ।
युवा तथा अन्य वर्गको रोजाइमा साहसिक पर्यटन पर्न थालेसँगै यो क्षेत्रमा लगानी थपिँदै गएको हो। हालसम्म साहसिक पर्यटनमा दुई अर्ब ३१ करोड ८३ लाख रूपैयाँ लगानी पुगेको विभागले जनाएको छ। पछिल्लो समय बन्जी-जम्प र जीपलाइन धेरैको रोजाइ बनेको साहसिक पर्यटनमध्येका हुन्।
२०५६ सालमा सिन्धुपाल्चोकमा द लास्ट रिसोर्ट एड्भेन्चर्स प्रालिले नेपालमै पहिलो पटक बन्जी-जम्प सञ्चालन गरेको थियो। त्यसपछि पोखरामा हाइग्राउन्ड एड्भेन्चर्स नेपाल प्रालिले २०६६ सालमा जीपलाइन भित्र्याएको थियो। जीपलाइनको सफलतासँगै कम्पनीले २०७१ सालमा चार करोड ९० लाख लगानीमा बन्जी सुरू गर्यो।
साहसिक पर्यटनमा लगानी र खेल थप्दै अघि बढेको हाइग्राउन्डले यस वर्ष ५० करोड रूपैयाँ लगानीमा स्विङ सञ्चालनमा ल्याएको छ। यो नेपालकै पहिलो जायन्ट स्विङ भएको कम्पनीको दाबी छ। यो खेलका लागि खोलाबाट २६२ फिटमाथि ९८ फिट अग्लो टावर बनाइएको छ। टावरमा रहेको डोरीमा स्विङ खेल्ने व्यक्तिलाई सुरक्षित तवरमा झुन्ड्याइन्छ। कुर्सीमा बसे जसरी एक पटकमा तीन जनासम्म खेल्न सकिन्छ। परिवार र साथीहरू सँगसँगै खेल्न सकिने स्विङ दुई जना मात्र बसेर पनि खेल्न सकिने कम्पनीले बताएको छ। कम्पनीले पर्यटन विभागमा २०७१ सालमा सञ्चालन अनुमति लिएको हो।
कोरोना महामारीकै बीचमा द क्लिफ प्रालिले बागलुङ–पर्वतमा एक करोड २० लाख रूपैयाँ लगानीमा बन्जी-जम्प र स्विङ खेल सञ्चालनमा ल्याएको छ। विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालि रिसोर्टमा हालसालै नयाँ साहसिक खेल स्काइ ग्लाइडिङ सञ्चालनमा आएको छ।
महामारीसँगै खुलेका कतिपय साहसिक पर्यटन सञ्चालनमा आउने क्रममा छन्। कोरोनापछि यस्ता साहसिक पर्यटनमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको हो। छोटो समयमा फस्टाएको र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको साहसिक पर्यटनको रूपमा लिइन्छ जीपलाइन।
वर्ल्ड वाइड एड्भेन्चर्स प्रालिले २०७५ सालमा काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालनमा ल्याएको जीपलाइन यति बेला साहसिक पर्यटकको केन्द्र नै बनेको छ। धुलिखेल–८ थाक्लेडाँडादेखि पाँचखाल नगरपालिका–५ खावासम्म, ११ सय मिटरको दुरीमा जीपलाइनमा रमाउनेहरूको घुँइचो हुन्छ। राजधानी काठमाडौंबाट छोटो दुरीमा र तीन थरीका जीपलाइन भएकाले यहाँ प्रायः जसो भीडभाड भइरहन्छ।
धुलिखेलतिरको भागमा टेकअफ प्वाइन्ट र पाँचखालपतिरको भागमा ल्यान्डिङ प्वाइन्ट रहेको यो जीपलाइनमा अन्य दिनभन्दा शनिबार भीड धेरै हुने सञ्चालक केदार थापा बताउँछन्।
'डोरीमा झुन्डिएर वारिपारि हावामा उड्न पाइने भएपछि यति बेला जीपलाइनमा पर्यटकको आकर्षण छ,' उनले सेतोपाटीसँग भने, 'धुलिखेल जीपलाइन अहिले स्वदेशी पर्यटकले नै धानेको छ।'
सबै उमेर समूहले खेल्न मिल्ने जीपलाइनमा आकर्षण बढेकै कारण उनले अन्य ठाउँमा पनि विस्तार गरेका छन्। उनकै लगानीमा पूर्वको भेडेटारमा हाल जीपलाइन सञ्चालनमा छ। त्यस्तै नगरकोटमा पनि जीपलाइन चलाउन अन्तिम तयारीमा रहेको उनले बताए।
'आगामी असोज महिनाबाट नगरकोटमा सञ्चालनमा हुनेछ,' थापाले भने।
सानो लगानीमा चाँडै प्रतिफल पाइने व्यवसायका रूपमा जीपलाइनलाई लिन्छन् सञ्चालक थापा। उनी आफूले मात्र होइन, जीपलाइन सुरू गर्न खोज्नेलाई सहयोग समेत गरिरहेको बताए। साहसिक पर्यटनमा लगानीका लागि युवाहरू गन्तव्यको खोजीमा रहेको उनको भनाइ छ।
वर्ल्ड वाइड एड्भेन्चर्स प्रालिसँगै श्री नौबिसे ट्रयाम्प अर्गानिक रिसोर्ट एन्ड जीपलाइन, नुवाकोटको दरबार एड्भेन्चर जीपलाइन प्रालि, मकवानपुरको होटल गढी भ्यू एन्ड रिसोर्ट प्रालि, भक्तपुरको श्री योयो जीपलाइन प्रालिले जीपलाइन सञ्चालनमा ल्याएको छ। त्यस्तै श्री बेट एण्ड डाइनो एमुज्मेन्ट एण्ड वाटरपार्क प्रालिले सुनसरीमा जीपलाइन सञ्चालनमा ल्याएका पर्यटन विभागले जनाएको छ।
त्यस्तै यही वर्ष तीनवटा जीपलाइन सञ्चालनमा आउने प्रक्रियामा छन्। विभागका अनुसार पर्वतमा श्री हारनेस जीपलाइन प्रालि, जर्सिङपौवामा मणिचुड जीपलाइन प्रालि र नगरकोटमा श्री नगरकोट जीपलाइन प्रालिले चालु आर्थिक पर्यटन विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण गराएका छन्। यी तीन वटा जीपलाइन सञ्चालनमा आएपछि देशभर जीपलाइनको संख्या बढेर ८ वटा हुनेछ।
विगतमा साहसिक पर्यटन भन्नेबित्तिकै र्याफ्टिङ र बन्जीलाई मात्र लिइन्थ्यो। तर समयसँगै पर्यटकको आकर्षणले केही समययता विभिन्न प्रकारका साहसिक खेलको विकास भइरहेको छ।
'साहसिक खेल धेरैले रूचाउनुभएको छ। त्यसकारण पनि यसमा लगानी बढ्दै गएको छ,' विभागका एक कर्मचारीले भने, 'साहसिक पर्यटनमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आकर्षण देखिन्छ।'
साहसिक पर्यटनका लागि विभागले सञ्चालन मापदण्ड बनाइरहेको उनले बताए। हाल देशभर तीनवटा (हाल हाइग्राउन्ड एड्भेन्चर प्रालि पोखरा, द लास्ट रिसोर्ट एड्भेन्चर्स प्रालि काठमाडौं र द क्लिफ प्रालिले पर्वतको कुस्मा) बन्जी सञ्चालनमा छन्।
'बन्जी जम्पिङ दर्ता अनुमति छ तर कसरी सञ्चालन गर्ने भन्नेबारे मापदण्ड थिएन,' उनले भने, 'अहिले विभागले बनाएको मापदण्ड मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ। प्रकाशित हुनासाथ त्यहीअनुसार कार्यान्वयनमा जानेछ।'
उनका अनुसार साहसिक पर्यटनअन्तर्गत 'बन्जी जम्पिङसम्बन्धी मापदण्ड २०७८' मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। त्यस्तै 'मोटरबोट सञ्चालन तथा व्यवस्थापन कार्यविधि' पनि स्वीकृत भएको छ। अन्य साहसिक पर्यटन सञ्चालनका लागि कार्यविधि र मापदण्ड बनाइरहेको विभागले जनाएको छ।