भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी सेप्टेम्बरदेखि दुई वटा वायु सेवा कम्पनीले उडान गर्ने भएका छन्। एयर अरेबिया र वीज एयरले सेप्टेम्बरको मध्येबाट नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले जानकारी दिए।
वीज एयरले नेपालमै पहिलो पटक उडान गर्न लागेको हो। एयरलाइन्सले साताको सातै दिन उडानका लागि चासो देखाएको छ। प्रवक्ता शाहकाअनुसार हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट युएईको आबुधाबी उडान भर्ने तयारी गरेको छ।
'विमानस्थलको सुविधा, सुरक्षा व्यवस्था लगायतका विषयमा बुझ्नका लागि वायु सेवा कम्पनीहरू आगामी जुलाई तेस्रो हप्ता नेपाल आउने कुरा छ,' प्रवक्ता शाह भन्छन्, 'त्यसपछि थप प्रक्रिया अघि बढ्नेछ।'
यी दुई कम्पनी आएसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवाको संख्या तीन वटा पुग्ने उनले बताए। यसअघि जेठ २ गतेदेखि जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा-कुवेत नियमित उडान गरिरहेको छ।
सेप्टेम्बरबाट जजिरा एयरवेजले पनि हप्ताको सातै दिन उडान गर्ने तयारी गरेको उनले बताए। हाल जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ।