नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूसँग सोमबार काठमाडौंमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
अन्तक्रिया कार्यक्रममा बोल्दै संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेशस्थित नेपाली दुतावास र राजदूतहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। त्यसैले विदेशमा गरिने कार्यक्रममा समन्वय गरेर काम गर्नुपर्ने उनले बताए।
मन्त्री श्रेष्ठले राजदूतावासहरू नै विदेशमा देशको प्रतिनिधत्व गर्ने आधिकारिक निकाय भएको समेत बताए।
मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा देशको छवी निर्माणमा राजदूतहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै दुतावासहरूसँग समन्वय र सहकार्यका लागि मन्त्रालय र बोर्ड सधैं तयार रहेको बताए। मन्त्रालयका सह-सचिव बुहिसागर भट्टराईले नेपाल हवाई सुरक्षाका हिसावले सुरक्षित मुलुक रहेकोले सोही अनुरुप नेपालको हवाई सुरक्षाको विषयमा आएका भ्रम तोड्न आवश्यक रहेको बताए।
अन्तर्क्रिया कार्यक्रममा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, स्पेनका लागि शर्मिला पराजुली ढकाल, इजिप्टका शुशिल लम्साल, म्यानमारका लागि हरिशचन्द्र घिमिरे,अष्ट्रियाका लागि भरतराज रेग्मी, इजरायलका लागि कान्ता रिजाल, साउथ अफ्रिकाका लागि दान बहादुर तामाङ लगायतका नवनियुक्त राजदूतहरूले नेपालको प्रर्वद्धनका लागि देश अनुसार फरक-फरक प्रर्वधनात्मक सामग्री तयार गर्नुपर्ने धारणा व्यक्त गरे। यसबाहेक विदेशमा गरिने कार्यक्रममा लागि बजेटको व्यवस्था गर्न तथा कार्यक्रम गर्दा दुतावाससँग समन्वय गर्नुपर्नेमा उनीहरूले जोड दिए।
नवनियुक्त राजदूतहरूले नेपालको पर्यटनको विकासको लागि हवाई कनेक्टिभिटी अत्यावश्यक भएकोमा जोड दिँदै विदेशमा हुने कार्यक्रमहरू प्रभावकारी बनाउन दुतावास, मन्त्रालय, बोर्ड लगायतका निकायकाबीच समन्वय गर्न सुझाव दिए।
त्यस्तै, राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा व्यक्त गरे।
बोर्डका उपाध्यक्ष चन्द रिजालले बोर्डको आफ्नै सीमितताहरू अनुरुपको समन्वय र सहकार्य गर्नुपर्ने बताए। पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डले कोभिड-१९ पछि गरिरहेका कार्यक्रम तथा बोर्डको भावी योजनाबारे बताउँदै बोर्डले नेपालको प्रर्वद्धनमा दुतावासहरूसँग सहयोगको अपेक्षा गरेको बताए।
कार्यक्रममा वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, होटल संघ नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष रमेश थापा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदी लगायतले नेपाल पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको बताउँदै नेपाल करिब २५ लाख पर्यटकको आतिथ्यताको लागि तयार रहेको जानकारी दिए।