सन् २०२१ मा नेपाल भ्रमणमा आउने पर्यटकहरूले बसाइ अवधि लम्बाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपाल पर्यटन तथ्यांक-२०२१ अनुसार पर्यटकको बसाइ औसतमा १५.५ दिन पुगेको छ।
सन् २०२० मा सरदर बसाइ अवधि १५.१ दिन थियो। अहिले पर्यटकको बसाइ अवधि हालसम्मकै उच्च हो।
सन् २०२० भन्दा अघिल्ला तीन वर्षमा त अझ पर्यटकको औसत बसाइ सरदर १२ दिन थियो। सन् २०१९ मा १२.७ दिन, सन् २०१८ मा १२.४ र सन् २०१७ मा १२.६ दिन थियो। त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३.१२ र १३.१६ दिन पर्यटकको औसत बसाइ थियो।
बसाइ अवधि बढे पनि पर्यटकको खर्च भने घटेको छ। एक पर्यटकको प्रति दिन खर्च घटेर अहिले ४८ डलरमा आएको छ। सन् २०२० मा यो खर्च ६५ डलर थियो।
कोभिडका कारण २०२१ मा पर्यटक आगमन घटेसँगै पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रा पनि कम भएको छ। यस्तो आर्जनमा ४६ प्रतिशतले कमी आएको हो। सन् २०२१ मा एक लाख १२ हजार ५०९ अमेरिकी डलर आर्जन भएको छ।
नेपालको पर्यटन क्षेत्रमा कोभिडको असर कायमै छ। कोभिडअघि मासिक करिब एक लाख पर्यटक भ्रमणका लागि आउँथे। अहिले त्यो संख्या आधामा सीमित छ। सन् २०२० को तुलनामा २०२१ मा पर्यटक आगमन घटेको छ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० को तुलनामा सन् २०२१ मा विदेशी पर्यटकको संख्या झन्डै ३४ प्रतिशत घटेको छ।
सन् २०२० मा हवाइमार्गबाट एक लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ गरी दुई लाख ३० हजार ८५ जना पर्यटक आएका थिए।
सन् २०२१ मा भने हवाइमार्गबाट एक लाख ५० हजार ६६२ र स्थलमार्ग हुँदै ३३७ गरी एक लाख ५० हजार ९६२ जना मात्र विदेशी पर्यटक भित्रिएका छन्।
सन् २०२० को तुलनामा २०२१ मा कुल पर्यटकको संख्या ३४.३ प्रतिशतले घटेको छ। जसमा हवाइमार्ग हुँदै आउने पर्यटकको संख्या १७.५ प्रतिशत र स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या ९९.३ प्रतिशतले घटेको छ।
भ्रमणका लागि नेपाल आउने पर्यटकहरू धेरैजसो हिमाल आरोहण, तीर्थयात्रा र मनोरञ्जनमा रमाउन आउने गर्छन्। विशेषगरी वसन्त र शरद ऋतुमा भने हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट पर्यटक नेपाल आउने गरेका छन्।
सन् २०२१ मा १५३ आरोही समूहका ७६२ जनाले हिमाल आरोहण गरेका छन्। जसमा सबैभन्दा बढी अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, चीन र भारत लगायतका मुलुकका पर्यटकहरूले सगरमाथा, आमादब्लम, र मनास्लु हिमाल आरोहण गरेका हुन्।
त्यस्तै नेपाल घुम्न आउने पयर्टकहरू विभिन्न तीर्थस्थलमा जान्छन्। विदेशीले सबभन्दा बढी घुम्ने तीर्थस्थलका रूपमा लिइन्छ पशुपतिनाथ र लुम्बिनीलाई।
सन् २०२१ को वर्षभरिमा पाँच लाख ८ हजार ८५२ जनाले लुम्बिनी भ्रमण गरेका छन्। जसमध्ये ९१.१ प्रतिशत स्वदेशी, ८ दशमलव ६ प्रतिशत भारतीय र ०.०३ प्रतिशत तेस्रो मुलुकका पर्यटक छन्।
आन्तरिक हवाइ यात्रु दोब्बर बढे
यो वर्ष २२ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले १४ लाख ५६ हजार ९२९ यात्रु बोकेका छन्। जसमध्ये ७ लाख ४८ हजार ३२७ यात्रु बाहिरिएका छन् भने ७ लाख ८ हजार ६०२ यात्रु नेपाल भित्रिएका छन्।
सन् २०२१ सम्ममा आन्तरिक उडानतर्फ कुल ५४ विमानस्थलमध्ये ३२ वटा सञ्चालनमा छन्। आन्तरिकतर्फ एघार वटा हेलिकप्टर र नौ वटा एयरलाइन्स कम्पनीका जहाजले उडान गरिरहेका छन्।
सन् २०२० को तुलनामा २०२१ मा आन्तरिकतर्फ हवाइ यात्रुको संख्या दोब्बर बढेको छ।
वर्षभरिमा ३५ लाख यात्रुले मुलुकभर आवतजावत गरेका छन्।
तथ्यांकअनुसार आन्तरिक उडानतर्फ १७ लाख ९७ हजार ५३९ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रिएका छन्। सोही अवधिमा १७ लाख ७९ हजार ५३९ यात्रु काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन्।
जबकि २०२० मा कुल १४ लाख ५ हजार ७७७ यात्रुले मात्र आवतजावत गरेका थिए।
२०२१ मा आन्तरिकतर्फ नौवटा एयरलाइन्स कम्पनीमध्ये पाँच कम्पनीका जहाजले धेरै यात्रु बोकेका छन्।
जसमा बुद्ध एयरले १९ लाख ३५ हजार, यती एयरले ८ लाख ६ हजार, श्री एयरले ५ लाख ४५ हजार, सौर्य एयरले एक लाख ३४ हजार र तारा एयरले २२ हजार यात्रु बोकेको छ।
यी उडानका लागि विराटनगर, गौतम बुद्ध, पोखरा र नेपालगञ्ज विमानस्थल सबैभन्दा धेरै प्रयोग भएका छन्।