चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट 'रोयल टुलिप' सञ्चालनमा आउने भएको छ।
हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको बहुराष्ट्रिय फ्रान्सेली समूह 'लुभ्र होटल्स' सँगको ब्रान्ड सहकार्यमा रिसोर्ट सञ्चालनमा आउने भएको हो।
काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थितिमा केटिएम हस्पिटालिटी नेपालका तर्फबाट अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स, भारतका निर्देशक अजय बकायाले ब्रान्ड सम्झौतामा हस्ताक्षर गरे।
समारोहमा सम्बोधन गर्दै केटिएम हस्पिटालिटीका अध्यक्ष शाहले कोभिडले थला पारेको अवस्थामा गुणस्तरीय सेवामार्फत् पर्यटक आकर्षित गरी देशको अर्थतन्त्रमा गहकिलो योगदान दिने विश्वासका साथ रिसोर्ट सञ्चालन हुन लागेको बताए।
लुभ्र होटल्स, भारतका निर्देशक बकावाकाले नेपाल पर्यटकीय गन्तव्यको 'हटस्पट' का रूपमा अगाडि बढिरहेकाले रोयल टुलिप रिसोर्टले भारतीय लगायत विश्वभरबाट यहाँ आउने पर्यटकलाई आरामदायी र भरपर्दो सेवा दिने बताए।
परराष्ट्रमन्त्री डा. खड्काले पर्यटनको 'हब' नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्रान्ड भित्रिनु गौरवको विषय भएको बताए।
युरोपकै दोश्रो ठूलो तथा विश्वबजारमा ११ वटा विभिन्न ब्रान्डसहित फैलिएको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्रान्ड रोयल टुलिप कोभिडकै बेला शिलान्यास भई निर्माण सुरू भएको थियो।
यो रिसोर्टमा करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा स्विट लगायत ५ प्रकारका विविध सुविधा सहितका ६४ कोठा हुने छन्।
रिसोर्टमा आगन्तुकले ढुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर पदयात्रा मार्ग, आफ्नै बेकरीसहितको ग्रिल बार र रेस्टुरेन्ट जस्ता सेवाहरू पाउने छन्।
नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीको प्रयोग गरी निर्माण भइरहेको रिसोर्टको लागत करिब ८५ करोड रूपैयाँ अनुमान गरिएको छ। रिसोर्ट २०८० सालको दसैंताका सञ्चालनमा ल्याउने तयारी गरिएको केटिएम हस्पिटालिटीका अध्यक्ष शाहले बताए।