आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दै आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि हिमालय एअरलाइन्सले गत शुक्रबार (जुलाई १५, २०२२) मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ।
निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राती १० बजेर ३२ मिनेटमा प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ बजेर १७ मिनेटमा काठमाडौं अवतरन गरेको थियो।
उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेम नाथ ठाकुर र अन्य विशेष अतिथिहरूको उपस्थिति थियो। एअरलाइन्सले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्नेछ।
अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो। नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेकोमा हिमालय एअरलाइन्सद्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा एयरलाइन्स विश्वस्त छ।
नेपाल र कुवेतबीच सन् २००६ जनवरी २३ मा हवाई सेवा सम्झौता भएको थियो। यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु हिमालय एअरलाइन्सको लागी गर्वको कुरा हो। यो क्षेत्र सञ्चालनमा आएपछि रोजगारी, व्यापार र पर्यटनका लागि दुवै देशका यात्रुहरूको आवतजावतमा थप सहजता प्रदान हुने एअरलाइन्सको विश्वास छ।
यस अवसरमा कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले भने, 'हिमालय एअरलाइन्स एक प्रगतिशील वायुसेवा कम्पनी हो जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ। हिमालयले काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरुवात पनि सोही भावना अनुरुप गरेको हो।'
कोभिड–१९ महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एअरलाइन्सकालागि यस नयाँ रुटमा सेवा सुरू गर्दा केही सहजता प्रदान हुने उनको अपेक्षा रहेको जानकारी समेत श्रेष्ठले दिए।
एअरलाइन्सको एअरबस् ३२० लाई प्रयोग गरिने यस रुटको टिकट बुकिङका लागि यात्रुहरूले हिमालय एअरलाइन्सको बिक्री कार्यालय वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्नेछन्।