काठमाडौंमा 'लक्जरियस' बुटिक होटल सञ्चालनमा आउने भएको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहितको बुटिक होटल 'वर्णवास' खुल्ने भएको हो।
आगामी पाँच महिनाभित्र आधिकारिक रूपमा खुल्ने गरी काम भइरहेको होटलका मुख्य सञ्चालक राजेन्द्र बजगाईंले बताए।
पर्यटन व्यवसायी बजगाईंका अनुसार हाल होटलको अन्तिम चरणको फिनिसिङ र सजावट हुँदैछ। यसको कुल लगानी एक अर्ब १६ करोड रूपैयाँ छ। वर्णवास होटल परिसर प्रवेश गर्दा विभिन्न समुदायका संस्कृति झल्किने कला सजाइनेछ। त्यस्तै संग्रहालयमा नेपाल चिनाउने सामग्री राखिनेछ।
'संग्रहालय भनेको पुराना र जीर्ण सामग्री संकलन गरेर सजाउने ठाउँ मात्र होइन,' राजेन्द्रले सेतोपाटीसँग भने, 'यहाँ धेरै समुदायका संस्कृति झल्कने कलाहरू राखिनेछ, यसले पर्यटकलाई आकर्षित गर्नेछ।'
राजेन्द्रका अनुसार साढे नौ तलाको होटल तीन तहमा विभाजित छ। ती तहले नेपालको हिमाल, पहाड र तराई क्षेत्र झल्काउँछ। तीनै तहमा मूल आदिवासी समुदायका वेशभूषा, रहनसहन र संस्कृति झल्काउने सामग्री सजाइनेछ।
होटलको भुँइतलामा आर्ट ग्यालरी हुनेछ। पहिलो तलादेखि छैठौं तलासम्म कोठा छन्।
पहिलो र दोस्रो तलामा 'थारू गेस्ट रूम' छ। यी कोठाका भित्ता थारू समुदायका घर, गोठ, भाँडाकुँडा, खेतबारीमा काम गरिरहेका लगायत जीवनशैली झल्काउने कलाले सजाइनेछ। राई र लिम्बू समुदाय चिनाउने चित्र यही तलामा राखिनेछ।
तेस्रो र चौथो तलामा गुरुङ गेस्ट रूम छ। यो तलाले गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर, तामाङ र मुस्ताङका थकाली समुदायको संस्कृति र जीवनशैली चिनाउने उनले बताए।
पाँचौं तलामा 'गुरुङ कोरिडोर' र छैठौंमा 'शेर्पा गेस्ट रूम' हुनेछ।
होटलका कोठा चिनाउन अंकको सट्टा जातजातिको मौलिकता झल्किने नाम राखिएको हो। हरेक कोठाहरूमा फरकफरक जातीय समुदाय चिनाउने चित्र सजाइएको राजेन्द्र बताउँछन्।
होटलको नाम 'वर्णवास' हुनुको रहस्य पनि यही हो। राजेन्द्रका अनुसार होटलले सबै जसो नेपाली जातजातिको पहिचान दिने भएकाले उक्त नाम रोजिएको हो।
'हिमाल, पहाड र तराईलाई प्रतिनिधित्व गरेर वर्णवास बनाइएको हो,' उनले भने, 'यहाँ हरेक समुदायको संस्कृति, रहनसहन र जीवनशैलीका कलाहरू देख्न पाइनेछ। यस्तो सजावटले नेपाली संस्कृति र वेशभूषा संरक्षणमा पनि सहयोग पुग्नेछ।'
छैठौं तलामा रेस्टुरेन्ट हुनेछ। यहाँ नेपाली फ्युजन, जापानी, कन्टिनेन्टल र चाइनिज किचन हुनेछ। होटल सञ्चालन भएपछि परिकार र स्वाद थप्ने योजना छ। रेस्टुरेन्टमा एकै पटकमा कम्तीमा ७० जनाले खाना खान सक्छन्।
वर्णवास होटलको अर्को आकर्षण यसको छानो हो। होटलको सबभन्दा माथिल्लो भागमा सगरमाथा चुचुरोजस्तो आकृति बनाइएको छ। यो छानोमुनि नाम्चे भञ्ज्याङको डिजाइन पनि हुनेछ।
यहीँ 'साउथ कोल बार' रहनेछ। राजेन्द्रका अनुसार सगरमाथा र लोत्से हिमालको बीचबाट छुट्टिएर सगरमाथा आरोहणका लागि जाने ठाउँ साउथ कोलको नामबाट यो बारको नाम राखिएको हो।
हिमाल आरोहणभन्दा एक रातअघि साउथ कोलमा सुतेर माथि जाने चलन भएकाले होटलमा त्यसैको झल्को दिन खोजिएको उनले बताए। सगरमाथा चढ्न जाँदा ज्यान गुमाएका व्यक्तिको परिवारजनले बारमा रोजगारी पाउने उनले बताए। बारमा बसेर काठमाडौं उपत्यका नियाल्न र तल स्विमिङ पुल हेर्न सकिन्छ। स्विमिङ पुलको नाम 'गोक्यो' राखिएको छ।
होटलमा कुल ४८ वटा कोठा हुनेछन्। यीमध्ये ६ वटा प्रेसिडेन्टल स्विट, १८ वटा स्विट र बाँकी डिलक्स रूम हुनेछन्। सबै स्विट रूममा ज्याकुजी (तातो पानी हुने बाथटब) हुनेछ।
'यति धेरै प्राइभेट ज्याकुजी रहेको नेपालकै पहिलो होटल हुनेछ वर्णवास,' राजेन्द्रले भने।
वर्णवासमा कोठाका लागि न्यूनतम २५० अमेरिकी डलर (करिब ३२ हजार रूपैयाँ) पर्छ। बढीमा प्रेसिडेन्टल स्विटका लागि १७ सय डलर (करिब दुई लाख १५ हजार रूपैयाँ) तिर्नु पर्नेछ। होटलले विभिन्न सेवा-सुविधा र मूल्यमा प्याकेज दिने तयारी पनि गरिरहेको छ।
काठमाडौंको केन्द्रमा स्तरीय सेवा-सुविधा भएको बुटिक होटल सञ्चालनमा ल्याउने राजेन्द्र गोरखाका हुन्। उनी २८ वर्षदेखि पर्यटन व्यवसायमा छन्। सानै उमेरमा जन्मथलो छाडेर हिँडेका उनी पर्यटन क्षेत्रमा रहेर धेरै अनुभव बटुलेको बताउँछन्।
राजेन्द्र २०५१ सालमा काठमाडौं, ठमेलको एक गेस्ट हाउसमा कामदारका रूपमा प्रवेश गरेर पर्यटन क्षेत्रमा आएका हुन्। होटल व्यवसाय उनका लागि नौलो थियो। नयाँ कुरा सिक्ने दौडमा उनले गेस्ट हाउसमा करिब चार वर्ष काम गरे।
यसपछि राजेन्द्र आफ्नै लगानीमा पर्वतीय पर्यटनतिर लागे। व्यवसायको सिलसिलामा सन् २०११ मा विदेशी लगानी भित्र्याएर भैरहवामा 'टाइगर प्यालेस' होटलका साझेदार भए। तर विभिन्न कारणले टाइगर प्यालेसबाट बाहिरिए। यसपछि उनी एकल लगानीमा स्तरीय होटल चलाउने निर्णयमा पुगेका हुन्।
उनले भने, 'त्यति ठूलो होटल टाइगर प्यालेसबाट निस्किनु पर्यो। यसपछि सानै होस् तर राम्रो होटल बनाएरै छोड्छु भन्ने सोच बनाएँ।'
यो होटलको सोच सात वर्षअघि फुरेको थियो। उनी शाह वंशीय परिवारका एक सदस्यसँग चिया गफमा थिए। गफमा चार जात छत्तीस वर्णको कुरा निस्कियो। होटल खोल्ने तयारीमा रहेका राजेन्द्रको दिमागले 'वर्ण' समात्यो। 'जात र वर्ण' को होटल कस्तो बन्ला भन्ने कुरामा उनको दिमाग चल्न थाल्यो।
'पहिले सानो संग्रहालय होटल बनाउने कि भन्ने सोच थियो,' राजेन्द्रले भने, 'जब साथीले जात र वर्णको कुरा गर्नुभयो, त्यसपछि त्यहीअनुरूपको होटल खोल्ने सोच आयो।'
होटलबारे राम्रो समझ भएका राजेन्द्रको दिमागमा नाम जुर्यो- वर्णवास। अनेक जातजातिका मानिसहरू बस्ने थलो।
अब उनलाई होटलको सजावट सोच्न गाह्रो भएन। हिमाल, पहाड र तराई समेटेर जातजातिका रैथाने कला, संस्कृति झल्कने होटल बनाउने निष्कर्षमा पुगे। आर्किटेक्ट सञ्जयबहादुर थापाले राजेन्द्रको अवधारणाअनुसार वर्णवासको डिजाइन तयार गरे।
दुई रोपनी जग्गामा २०७६ सालदेखि होटल बन्न थाल्यो। निर्माण भइरहँदा देशमा कोभिड फैलियो। सुरूमा निर्माण सामग्री ल्याउन र श्रमिक राख्न केही गाह्रो भयो। काम भने रोकिएन। कोरोनाकालमै भवन ठडियो। अहिले धमाधम सजावटको काम भइरहेको छ। केही कोठा तयार पनि भइसके।
पुराना होटलहरूले सेवासुविधा स्तरीकरण गर्न नसकेकाले नयाँ होटल खुल्ने क्रम बढेको राजेन्द्रको बुझाइ छ।
'भइरहेका होटलले जुन सुधार र विस्तार गर्नुपर्थ्यो, त्यो गरेनन्,' राजेन्द्र भन्छन्, 'जमानाअनुसार जे कुराको माग बढी छ त्यसलाई लक्षित गर्दै नयाँ होटलहरूले नयाँ स्वाद र गन्तव्य दिइरहेका छन्।'
राजेन्द्रले वर्णवासमा विभिन्न समुदायका चाडपर्व मनाउने सोच पनि बनाएका छन्। शेफोक्सुन्डो र मुस्ताङमा मनाइने तिजी चाड, काठमाडौंमा मनाइने भोटेजात्रा, रथयात्रा लगायत चाडपर्व होटलका मुख्य मेनु हुने उनले जानकारी दिए।
'सबै समुदायले मनाउने चाड वर्णवासको मुख्य मेनु हुनेछ,' राजेन्द्रले सेतोपाटीसँग भने, 'यस्ता चाडपर्व वर्षभरि मनाइनेछ। यसबाट होटलमा पर्यटकको आकर्षण बढ्नेछ।'
निकट भविष्यमा वर्णवास स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्नेमा राजेन्द्र विश्वस्त छन्।
होटल वर्णवासको डिजाइन तस्बिरहरू सौजन्यः राजेन्द्र बजगाईं