संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न जरूरी रहेको बताएका छन्।
सोमबार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेमा अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रसँग हातेमालो गरेर विकृति नियन्त्रण गर्ने योजना रहेको बताए।
पर्यटन मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थापन गर्न तत्काल गर्न सकिने मध्ये कालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने कामका विषयमा अध्ययन गरेर काम अगाडि बढाउने उल्लेख गरे।
उनले पर्यटन क्षेत्रको पुनरूत्थानको काम सरकार र निजी क्षेत्र मिलेर मात्रै व्यवस्थित गर्न सकिने दाबी गरे। मन्त्री श्रेष्ठले तत्काल समय सापेक्ष अनुसारको ऐन नियमलाई संशोधन गरेर काम अगाडि बढाउने पनि तयारी भइरहेको बताए। उनले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन कानून निर्माण गर्न भने लागिपर्ने बताए।
‘कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौं’, उनले भने, ‘ऐन नियम बनाउने काम केही समय लाग्छ। ऐन कानूनको कामको पनि शुरुवात गरौं भनेर सोचेको छौं। म लामो समय बस्ने मन्त्री होइन। तर शुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निस्कर्ष निस्कन्छ।’
उनले अगाडि भने, ‘ऐन नियमका कुराहरु कहाँ केकेमा समय सापेक्ष संशोधन गर्नुपर्नेछ। त्यो कामको शुरूआत गर्छु। पर्यटन क्षेत्रलाई पुनःस्थापित र प्रचार गर्नुपर्ने कुराहरु छन्। त्यसमा मन्त्रालय कार्यक्रम नै अगाडि बढाएर जानेछ। पर्यटन पुनरूत्थानको काम सरकार र निजी क्षेत्र मिलेर नै गर्ने हो। हातेमालो गरेर नै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने हो।’
उनले पर्यटन क्षेत्रमा देखिएका विकृतिले हाम्रो इमेज खराब हुँदै गएको भन्दै यो विकृति नियन्त्रण गर्ने कुरामा पनि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेको औल्याए।
त्यस्तै कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजहरुलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिए।
उनले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरुको ब्रोसरहरु बोकेर, हवाइ उडानमा खर्च गरेर अहिलेको आधुनिक र टेक्नोलोजीको समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गरे। अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा ट्रेकिङ कम्पनीहरुको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गरे।
त्यस्तै, होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकता नराखेको गुनासो गरिन्। उनले सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिता नपरेर सहुलियत तथा छुट समेत नपाउँदा उद्योग धरासाही बनेको दाबी गरिन्।
अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरे मात्रै पर्यटन उद्योगलाई ठूलो सहयोग पुग्ने बताइन्। उनले सरकारले नेपालको राम्रो सन्देश दिनको लागि पाँच तारेदेखि सबै होटलमा खानामा गुणस्तरियता कायम गराउनु पर्ने सुझाव दिइन्। अध्यक्ष राणाले नेपालका पर्यटक ल्याउनको लागि अझै चुनौती रहेको बताइन्।
त्यस्तै कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष निमा नुरु शेर्पाले पर्वतारोहण उद्योगलाई राष्ट्रिय उद्योगको रुपमा स्थापना गर्न सुझाव दिए। उनले पर्वतारोहण सम्बन्धि सेवा सुविधाहरु एकद्वार प्रणालीमार्फत दिनुपर्ने बताए। अध्यक्ष शेर्पाले शाहसिक विभिन्न खेलहरुको लागि हिमालय आरोहण समेत खुल्ला गर्न माग गरे। उनले हिमाल आरोहण गर्दा ज्यान गुमाउनेको परिवारलाई कल्याणकारी कोष सञ्चालन गर्ने नितिगत व्यवस्था गर्नुपर्ने बताए।
त्यस्तै,नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले पर्यटकको लागि काठमाडौंमा विगत लामो समयदेखि पर्यटक बसपार्कको अभाव भएकाले सरकारले पर्यटक बसपार्कको व्यवस्थापन तत्काल गर्नुपर्ने बताए।
कार्यक्रममा समग्र पर्यटन व्यवसायीहरुले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको लागि सरकारले गर्नुपर्ने विभिन्न काम गर्नको लागि सुझाव दिएका थिए।