यस वर्ष र्याफटिङ प्रशिक्षक (गाइड)का लागि ४२ जनाले लाइसेन्स (प्रमाणपत्र) लिएका छन्। शनिबार सिन्धुपाल्चोकको भोटेकोशीमा सम्पन्न एक कार्यक्रममा उनीहरूले र्याफटिङ प्रशिक्षक लाइसेन्स प्राप्त गरेका हुन्। लाइसेन्स लिनेहरूमा ३१ जना पुरुष र ११ जना महिला छन्।
उनीहरूलाई संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र नेपाल पर्यटन बोर्डको सहकार्यमा एक महिनासम्म विभिन्न नदीहरूमा र्याफटिङ प्रशिक्षण गराइएको थियो। उनीहरूले गत शनिबार भोटेकोशी नदीमा र्याफटिङ र कायकिङ खेलपछि लाइसेन्स पाएका हुन्।
लाइसेन्स पाउनेहरूमा अधिकांश युवाहरू छन्। नेपालका नदीहरूमा जलयात्राको राम्रो सम्भावाना रहेकाले यो क्षेत्रमा आकर्षित भएको प्रशिक्षणका लागि आएकाहरूले बताए। शनिबार र्याफटिङ प्रशिक्षणको सिकाइपछि लाइन्सेस पाएकी सुजिना श्रेष्ठ भन्छिन्, ‘६ वर्षदेखि त्रिशुली नदीमा र्याफ्ट गर्दै आइरहेको छु। अब भने अरुलाई जलयात्रा गराउन लाइसेन्स पाएँ।'
बाल्यकालदेखि नै त्रिशुली नदीलाई राम्रोसँग देखेकी श्रेष्ठ धादिङकी हुन्। उनी सानैदेखि त्रिशुलीमा पौडी खेल्न पुग्थिन्। सोही क्रममा उनी त्रिशुलीमा र्याफटिङ गर्न आउने र र्याफटिङ गराउनेहरूसँग घुलमिल हुन्थिन्। र, भविष्यमा र्याफटिङ चलाउने प्रशिक्षक बन्ने उनको रहर थियो।
‘परिवारबाट पनि राम्रो साथ सहयोग छ,' उनले खुसी हुँदै भनिन्, ‘अब मेरो पेशा नै र्याफटिङ गाइड हुनेछ।' यस्तै थुप्रै युवाहरू र्याफटिङमा भविष्य खोज्दै तालिममा सहभागी भएका थिए।
नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सीज (नारा) ले दक्ष जनशक्ति वृद्धिका लागि रिभर गाइड तालिम दिदैँ आइरहेको छ।
नारा र नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) सँगको सहकार्यमा वार्षिक एक सयभन्दा बढीले र्याफटिङ तालिम लिने गरेको नाराका अध्यक्ष शिव अधिकारीले बताए।
उनकाअनुसार हालसम्म चार हजारभन्दा बढीले र्याफटिङ लाइसेन्स लिएका छन्। त्यस्तै, पाँच सयभन्दा बढीले अन्तर्राष्ट्रिय र्याफटिङ महासंघबाट लाइसेन्स लिएका छन्।
‘र्याफटिङ लाइसेन्सका लागि दुई वर्षसम्म कम्पनीमा काम गरेको हुनुपर्छ’, उनी भन्छन्, ‘सो कम्पनीले नारालाई सिफारिस गरेपछि हामीले नाथमसँगको सहकार्यमा तालिम दिन्छौं।’
त्यस्तै, त्रिशुली नदीलाई सम्पदा पार्क र भोटेकोशी नदीलाई नदी पार्कका रुपमा विकास गरिने उनले बताए। सातै प्रदेशका विभिन्न नदीहरूलाई वातावरणीय, पर्यटन र आगामी पुस्ताका लागि इको–सिस्टमको लागि सुरक्षित गर्नुपर्ने उनको भनाइ छ।
‘साहसिक खेल पर्यटनका लागि नेपाल विश्वको उत्कृष्ट गन्तव्य हो,’ उनी थप्छन्, ‘यसको प्रवर्द्धनले नै आगामी दिनमा जलयात्रा पर्यटकको आकर्षक गन्तव्य बनाउन सकिन्छ।’
तालिममा प्रमुख प्रशिक्षक नाराका पूर्वअध्यक्ष निमबहादुर मगर र प्रशिक्षक सिता थापाले प्रशिक्षण गराएका हुन्। जल खेलकुद मनोरञ्जन मात्र नभई अन्य मुलुकका नदीमा पुग्ने अवसर पनि रहेको नाराका पूर्वअध्यक्ष मगरले बताए।
विशेषगरी महिला खेलाडीका लागि र्याफटिङ ठूलो अवसर भएपनि सहभागीता कम रहेको उनको भनाइ छ। ‘नेपालमा मात्र होइन विश्वका धेरै मुलुकहरूमा महिला र्याफटिङ प्रशिक्षकहरूको माग बढेको छ,' उनी भन्छन्, ‘तर महिलाको सहभागिता एकदमै कम छ। यसपटकको यो संख्या विगतको तुलनामा बढी हो।'
त्यस्तै नेपाल घुम्न आउने पर्यटक हिमाल चढ्न र अवलोकन गर्न मात्र होइन, यहाँका नदीनालामा रमाउनका लागि पनि आउने नाथमका प्रमुख अजय ढकालले बताए। उनकाअनुसार कोरोना माहामारीपछि आन्तरिक पर्यटकहरू जलायात्रामा रमाइरहेको र प्रशिक्षक निकै व्यस्त छन्।
पर्यटन कार्यालय बागमतीकाअनुसार सन् २०२१ सम्म ३२४ जनाले र्याफटिङ प्रशिक्षकको लाइसेन्स लिएका छन्। उनीहरू नेपालमात्र नभई अन्य मुलुकहरूमा र्याफटिङ सिकाउनका लागि प्रशिक्षकका रुपमा पुगेका छन्।
त्यसर्थ पनि जलायात्रा नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रशिक्षकहरूको माग बढी छ। त्यसो त र्याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुल्ला गरिएका छन्। त्यसमध्ये कर्णाली, सुनकोसी तथा भोटेकोसी नदी संसारकै उत्कृष्ट दस नदीमा पर्छन्। तर दिनप्रतिदिन खोला भने मासिने क्रममा रहेको उपत्यका पर्यटन कार्यालयले जनाएको छ।
पछिल्लो समय खोलाहरूमा ड्याम बनाउने, हाइड्रो निर्माण गर्ने जस्ता योजना तथा कार्यले र्याफटिङ व्यवसायमा असर पुगेको कार्यालयका प्रमुख टंक प्रसाद भट्टराई बताउँछन्। यसका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने उनको भनाइ छ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका संयोजक धर्म दवाडीले कोरोना माहामारीपछि पर्यटन क्षेत्रका मजदुरहरूलाई अल्पकालीन रोजगारी दिइरहेको बताए। संयोजक दवाडीकाअनुसार भोटेकोशीमा मात्र वार्षिक लाखौंको संख्यामा आन्तरिक र विदेशी पर्यटक जलयात्रामा रमाउन पुग्छन्।
नेपालका नदीहरू र्याफटिङका लागि योग्य रहेको र र्याफटिङ प्रशिक्षकको संख्या बढाउनका लागि यस पटक युएनडिपीले सहकार्य गरेर निः शुल्क तालिम दिएको उनले बताए। उनी भन्छन्, ‘यो कार्यक्रममार्फत सहभागी लाभान्वित हुनुका साथै हामीले नयाँ र्याफटिङ प्रशिक्षक पनि पाएका छौं।'
उनकाअनुसार यो कार्यक्रम विभिन्न निकायसँगको सहकार्यमा ६ हजार श्रमिकलाई अल्पकालीन रोजगारी दिने योजनासहित सुरु भएको हो। कार्यक्रमअन्तर्गत हालसम्म विभिन्न पर्यटकीय क्षेत्रहरूको सरसफाइ, पैदलमार्गमा रहेका पुल–पुलेसाहरूको मर्मत सम्भार, सातै प्रदेशका सात सयभन्दा बढी पर्यटन व्यवसायीलाई सीपमुलुक पर्यटन तालिम र पर्यटकीय क्षेत्रमा स–साना पूर्वाधारको काम भएको छ।