नेपाल पर्यटन बोर्डले अष्ट्रेलियन राजदूतावाससँगको सहकार्यमा दुईतर्फी पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने भएको छ।
सोमबार बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नबीचको भेटमा दुवै देशको पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य गर्न सकिने विषयमा छलफल भएको हो।
भेटका अवसरमा आर्थिक तथा पर्यटन कूटनीतिकका माध्यमबाट दुवै देशले फाइदा लिन सक्ने कुरामा जोड दिइएको बोर्डले जनाएको छ।
बोर्डका सिइओ डा. रेग्मीले कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको बताउँदै साहसिक पर्यटनमा रुचि राख्ने अष्ट्रेलियन पर्यटकका लागि नेपाल एक आकर्षक गन्तव्य भएको उल्लेख गरे।
उनले अष्ट्रेलिया र नेपालबीच सिधा हवाई कनेक्टिभिटी नभएका कारण पर्यटक कम आएको र हवाई कनेक्टिभिटी बढाउन दूतावासमार्फत पहल गर्न आग्रह गरे।
नेपालका अष्ट्रेलियन राजदूतावास नियोग उपप्रमुख पल म्याकिकर्नले नेपालको विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै आपसी सहकार्यका लागि दूतावास तयार रहेको बताए।
अष्ट्रेलियामा नेपाली समुदायहरूको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा कूटनीतिक तथा जनस्तरबाट समेत दुई देशबीचको सम्बन्धलाई थप अगाडि बढाउनु पर्नेमा म्याकिकर्नले जोड दिए।