संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ। शुक्रबार मन्त्रालयमा भएको भेटमा दुई देशबीचको रहिआएको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको हो।
मन्त्री श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउन राजदूत श्रीवास्तवसँग प्रस्ताव गरेका छन्। नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ।
मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन सफल हुने विश्वास समेत व्यक्त गरे।
राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश बिन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने बताए। भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरूलाई जोड्ने रामायण सर्किट सम्बन्धी पुर्वाधार निर्माण अघि बढाउनेबारे पनि छलफल भएको छ। रामायण सर्किटले धार्मिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ।
मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि सरकारले पर्यटन क्षेत्रको पुनउत्थानलाई प्राथमिकता दिएको बताउँदै नेपालमा भारतीय पर्यटकहरूको आगमन वृद्धिका लागि गर्नुपर्ने प्रवर्द्धनात्मक कार्यक्रमबारे पनि राजदूत श्रीवास्तवसँग छलफल गरेका छन्।