संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि काठमाडौं महानगरपालिकासँग सहकार्य गर्ने भएको छ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र महानगरका प्रमुख बालेन शाहबीच सोमबार भएको भेटमा मन्त्री श्रेष्ठले महानगरसँग सहकार्य गर्दै अघि बढ्ने बताएका हुन्।
पर्यटनमन्त्री श्रेष्ठले कोभिड-१९ महामारीबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना अन्तर्गत महानगरपालिकासँग सहकार्य गरिने बताए।
पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको सुरुवात गर्ने योजना छ। जसमा मन्त्री श्रेष्ठले काठमाडौंका स्थानीय सरकारहरूको सहयोग आवश्यक भएको बताए। साथै, विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ छ।
यससँगै, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा 'होप अन हप अफ' सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको मन्त्री श्रेष्ठले बताए।
उनकाअनुसार स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धनले आन्तरिक एवम् बाह्य पर्यटन प्रवर्द्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्नेछ। महानगर प्रमुख शाहले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौं आउने जानकारी दिए।
उनका अनुसार इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको हो।
परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने मेयर शाहको भनाइ छ।