ठमेल पर्यटन विकास परिषदको असार ३२ गते भएको चुनावमा भविश्वर शर्मा अध्यक्ष पदमा विजयी भए।
२०७१ सालमा उनी सदस्यका रूपमा परिषद प्रवेश गरेका थिए। सदस्यबाट महासचिव, उपाध्यक्ष हुँदै यसपटक अध्यक्ष बनेका हुन्।
अध्यक्ष बनेसँगै पर्यटकीय क्षेत्रका रूपमा ठमेललाई 'हेरिटेज नमूना पर्यटकीय नगरी' बनाउने उनको सोच छ।
'दुई वर्षको कार्यकालमा सबै निकायसँग सहकार्य गरेर ठमेललाई हेरिटेज नमूना पर्यटकीय नगरी बनाउने योजना छ,' अध्यक्ष शर्माले सेतोपाटीसँग भने, 'युरोप, अमेरिका लगायत मुलुकसँग तुलना गर्न मिल्ने ठमेल बन्छ।'
परिषदले लामो समयदेखि ठमेलका घरधनी र व्यवसायीबीच पुल बनेर काम गर्दै आइरहेको छ। विशेषगरी ठमेल क्षेत्रमा भएका व्यावसायिक, घरधनीका र पूर्वाधार समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधान गर्ने काम परिषदले गर्दै आएको उनले जानकारी दिए।
ठमेलमा दुई दशक बिताएका शर्मा पर्यटन व्यवसायी हुन्।
२४ वर्षअघिसम्म उनी विदेशमा रमाइरहेका थिए। बागलुङ जन्मिएका शर्मा स्नातक तह अध्ययन गर्दै गर्दा क्यानडा पुगे। क्यानडामा उनको भेट एक जना साथी (नेपाली नागरिक) सँग भयो। त्यति बेलासम्म उनी स्वदेश फर्किने सोचमा थिएनन्। बरू क्यानडाबाट अमेरिका जाने र केही व्यवसाय गर्ने सोच थियो।
तर क्यानडामा देखेको एउटा 'स्पा' ले उनलाई स्वदेश फर्काइदियो।
'त्यहाँ प्रयोग भएको स्पा नेपालमा सञ्चालन गर्दा कस्तो होला भन्ने लाग्यो त्यसबारे अध्ययन गरेँ,' उनले सुनाए, 'नेपालमा त्यति बेलासम्म स्पा थिएनन्।'
पहिलो पटक स्पा खोल्ने आँट गरेर उनी स्वदेश फर्किए। जापान, थाइल्यान्ड लगायत मुलुकबाट प्राविधिक झिकाएर स्पा चलाउन जनशक्ति उत्पादन गरे। अनि सन् २००१ मा जोमसोममा रोयल थेरापी (स्पा) सञ्चालनमा ल्याए।
'पदयात्रीलाई लक्षित गरेर खोलेको थिएँ। आनन्दभन्दा पनि यात्राको थकानपछि उपचारजस्तो होस् भनेर जोमसोमबाट स्पा सुरू गरेका थियौं,' उनले सेतोपाटीसँग भने, 'एक सिजन त्यहाँ गरेपछि अर्को वर्ष सात वटा खोल्यौं।'
उनले अरू व्यक्तिको सहकार्यमा पदयात्राका विभिन्न गन्तव्यमा स्पा सेन्टर फैलाउँदै लगे। यही क्रममा ठमेलमा खोले। एकैपटक थुप्रै स्पा सेन्टर भएपछि त्यसको व्यवस्थापन कमजोर हुँदै गयो।
'व्यवस्थापन सम्बन्धी जानकारी थिएन। सबैतिर काम गर्न दक्ष जनशक्ति पनि भएनन्,' उनले भने।
त्यसपछि उनले होटल तथा हस्पिटालिटी क्षेत्रमा लगानी गरे। यसमा उनलाई सफलता मिल्दै गयो। अहिले उनी चितवनमा साढे दस विघा क्षेत्रफलमा भव्य सेवा-सुविधा सहितको रिसोर्ट बनाउँदै छन्। पर्यटन व्यवसायसँगै जग्गा कारोबार, गार्मेन्ट, मिडिया लगायत विभिन्न क्षेत्रमा पनि शर्मा सक्रिय छन्।
यसरी पर्यटन क्षेत्रमा तानिएका उनले अब परिषदको अध्यक्षका रूपमा ठमेलको सौन्दर्य र पूर्वाधार विकासका लागि विभिन्न योजना बनाएका छन्। यसमा केही तत्कालीन र केही दीर्घकालीन कार्ययोजना छन्। उनका अनुसार आगामी तीन महिनाभित्र सुरू हुने गरी तीन वटा योजना छन्।
पहिलो हो, असरल्ल छरिएका तारको व्यवस्थापन।
ठमेल क्षेत्रका अस्तव्यस्त तार व्यवस्थापन यसअघि २०७६ सालमा सुरू गरिएको थियो। व्यवस्थापन गर्दै गर्दा देशमा कोरोना महामारी फैलियो। काम बीचमै रोकियो। त्यति बेला सञ्चयकोषको कार्यालयदेखि सात घुम्तीसम्म, सञ्चयकोषदेखि ज्याठालाइन, काठमाडौं गेस्ट हाउसदेखि जिपी चोक र हिमालय जाभाको पछाडितिरका तार व्यवस्थापन गरिएको थियो।
त्यो बेला ४० प्रतिशत तार व्यवस्थापन भएको उनले जानकारी दिए। त्यही कामको निरन्तरतालाई उनले प्राथमिकतामा राखेका हुन्।
'अझै ६० प्रतिशत तार व्यवस्थापन गर्न बाँकी छ,' उनी भन्छन्, 'अबको तीन महिनामा ठमेलका तार समेटिनेछ।'
दोस्रो योजना हो होर्डिङ बोर्ड व्यवस्थापन।
उनका अनुसार नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल पुग्छन्। यसलाई पर्यटक जमघट हुने थलोका रूपमै चिनिन्छ। तर ठमेलको सौन्दर्यमा दागी बनेका छन् जथाभावी टाँगिएका होर्डिङ बोर्ड। यस्ता बोर्ड हटाउन छिट्टै मापदण्ड ल्याइने उनले बताए।
'ठमेलमा ठाडो होर्डिङ बोर्ड हटाएर तेर्सो मात्र राख्न पाउने मापदण्ड बन्नेछ,' शर्माले भने, 'तेर्सोमा राख्दा पनि बोर्डको दृश्य कस्तो बनाउने भन्ने बारेमा व्यवसायीहरूसँग छलफल गरेपछि काम अघि बढ्नेछ।'
तार र होर्डिङ बोर्ड व्यवस्थापनसँगै उनको अर्को योजना हो ठमेलका पुराना घरमा रंगरोगन गर्ने।
वर्षौं पुराना घरहरू रङ नलगाएकाले ठमेलको सौन्दर्य फिक्का हुँदै गएको उनी बताउँछन्। पर्यटक प्रवेश गर्नासाथ ठमेल फोहोरी नदेखियोस् भनेर घरधनीलाई अब आफ्नो रोजाइअनुसारको रंग लगाउन भनिनेछ।
शर्माले भने, 'सडकमा पर्ने पुराना र रङ खुइलिसकेका घरमा अब अनिवार्य रङ लगाउने नियम ल्याउँछौं।'
यसका लागि सुरूमा सबै व्यवसायी तथा घरधनीसँग बसेर छलफल हुनेछ। घरधनीले रङ लगाउन नमाने 'वातावरणलाई असर पार्ने गरी घरमा रङ नलगाइएको सम्बन्धी' सूचना निकालिने उनले बताए। त्यसपछि हस्तक्षेप गरेर व्यवसायीहरूबाट भाडा उठाएर पनि रङ लगाइने उनी बताउँछन्।
'ठमेल मुख्य सडकमा कतिपय यस्ता घर छन् जसका भित्री कोठा रंगरोगन गरेर चिटिक्क बनाएका हुन्छन्। तर बाहिर वर्षौंदेखि खुइलिइएको छ,' उनले भने, 'त्यसले गर्दा ठमेलको वातावरणमा समेत असर पुगेको छ।'
सडक वा बाटोमा रहेका घरले अनिवार्य रंगरोगन गर्नुपर्ने उनको भनाइ छ।
'आगामी तीन महिनाभित्र यी तीनवटा काम अघि बढ्नेछ,' उनले भने, 'यी कामले पूर्णता पाएसँगै ठमेलको सौन्दर्य बढ्नेछ भने बाँकी काम हुँदै जानेछ।'
शर्माले त्यसपछिको योजना पनि तयार पारेका छन्। उनका अनुसार अबको ६ महिनापछि ठमेलमा प्रत्येक ५० मिटरको दुरीमा सिसिटिभी क्यामरा जडान हुनेछ। तीन सयभन्दा बढी क्यामरा जडान गर्ने तयारी छ। त्यस्तै ठमेलको फोहोर राती ११ बजेदेखि बिहान ५ बजेसम्म संकलन गरी सफा बनाइनेछ। परिषदले फोहोर व्यवस्थापनका लागि घरधनी र व्यवसायीका निम्ति मापदण्ड बनाउने छ।
ठमेल क्षेत्रमा हाल विद्युत प्राधिकरणले तार भूमिगत गरिरहेको छ। यो काम सकिनासाथ यहाँका सानाठूला सडक कालोपत्रे गरिनेछ। बाटो सफा गर्न टोलपिच्छे उपसमिति बनाइनेछ।
'कालोपत्रे भएपछि हरेक दिन बिहान ६ बजेदेखि एक घन्टा बाटो पखाल्ने काम हुन्छ,' उनले भने।
सडकको आकार हेरेर एकतर्फी सवारी आवतजावत र बाँकी फुटपाथ बनाउने पनि उनको योजना छ।
'यसरी ६ महिनाभित्र काम गर्ने गरी अघि बढेका छौं। पुसमा साधारण सभापछि स्थानीयको प्रतिक्रियाअनुसार थप काम अगाडि बढाउँछौं,' उनले भने।
कोभिड महामारीपछि ठमेल पुरानो लयमा फर्किन सकेको छैन। विदेशी पर्यटकको बजारका रूपमा रहेको ठमेलको व्यवसाय कोरोनापछि आन्तरिक पर्यटकले मात्र धानिएको शर्मा बताउँछन्। कोभिडअघि ठमेलमा दैनिक दस हजार पर्यटक आवतजावत गर्थे। अहिले आधा मात्र छन्।
'कोरोनाअघि स्वदेशी पर्यटक कम र विदेशी बढी हुन्थे,' उनले भने, 'अहिले स्वदेशी पर्यटक बढेका छन्, उनीहरूकै कारण ठमेल चलेको छ।'
कोभिडले खुम्चिएको व्यवसाय चलायमान बनाउन व्यवसायीहरूले विभिन्न प्याकेज बनाएर सेवा-सुविधा दिइरहेको उनले बताए। पर्यटक बढाउन सम्बन्धित निकायसँग पहल गरिरहेको पनि उनले जानकारी दिए।
शर्माका अनुसार पर्यटकीय गतिविधि बढाउन सबभन्दा पहिले राज्यले ध्यान दिनु पर्छ। विदेशी पर्यटकलाई सहज तरिकाले नेपाल घुम्न आउने वातावरण बनाउनु पर्छ। वायु सेवा कम्पनीहरूलाई विभिन्न सुविधा दिएर उडान संख्या बढाउनु पर्छ। कोभिडपछि रोकिएका विभिन्न मुलुकमा हुने हवाइ उडान पुनः सञ्चालनमा ल्याउन सक्नु पर्छ।
कोरोना महामारीपछि ठमेलमा मात्र चारवटा तारे होटल सञ्चालनमा आएका छन्। यी पूर्वाधार उपयोग गर्न पनि पर्यटक बढाउनै पर्छ।
'पहिले दस हजार पर्यटक आउँदा ठमेल खचाखच हुन्थ्यो,' शर्माले भने, 'तर महामारी समयमै यसरी पूर्वाधार तयार भए, अब ठमेल भरिभराउ हुन ३० हजार पर्यटक चाहिन्छ।'
यसका लागि सम्बन्धित निकाय, व्यवसायी, स्थानीय लगायत सबैसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी