संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षारोपण’ अभियानको शुभारम्भ गरेका छन्।
पशुपति क्षेत्रमा बिहीबार आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरेका हुन्।
मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधना स्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए। मन्त्री श्रेष्ठले बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्।
कार्यक्रममा मुख्य सचिव शंकरदास वैरागी, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह तथा कोषका पदाधिकारीहरूले समेत वृक्षारोपण गरेका छन्।
साथै, खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले एक लाख रुद्राक्षको बिरुवा उपलब्ध गराउने घोषणा गरेका छन।